फागुण ६, २०८१ मंगलबार
नवलपुर- नवलपुरको गैँडाकोटमा नेवार समुदायका बालिकाको सामूहिक वेलविवाह (इही) गरिएको छ। मिसा देबू गैँडाकोटको आयोजनामा नेवार समुदायका बालिकाको सामूहिक बेलविवाह गरिएको हो।
बेलविवाहमा गैंडाकोटदेखि त्रिवेणीसम्मका १९ जना बालिकाको सहभागिता रहेको नेवाः देय दबु नवलपुरका सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेवार समुदायमा बालिका रजस्वला हुनुअघि बेलविवाह गर्ने प्रचलन छ। बेलविहाह पछि १२ दिन गुफा राख्ने गरिन्छ।
कार्यक्रममा बोल्दै नेवारी पुरेत अर्थात् नेवार समुदायका राजगुरु हरिशरण राजोपाध्यायले बेलविवाह गरेपछि ती महिलाको श्रीमानको मृत्यु भए पनि उनले रातो कपडा, चुरा पोते र सिन्दुर छोड्न नपर्ने बताउनुभयो।
एकल महिलालाई अहिलेका राजनीतिक दल तथा सामाजिक अभियन्ताले रातो कपडा दिने प्रचलन सुरु गरे पनि नेवार समुदायमा यो पररम्परा पहिलेदेखि नै रहेकोले यो समुदाय संस्कार र संस्कृतिमा धनी रहेको पुष्टि हुने बताउनुभयो।
कार्यक्रममा नेवाः देय दबु नवलपुरका जिल्ला अध्यक्ष मित्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायतले बेलविवाहको बारेमा चर्चा गर्दै बालिकाहरुलाई शुभकामना दिनुभएको थियो। हिजो सोमबारदेखि शुरु भएको विवाहमा सहभागी बालिकाहरुलाई आज मङ्गलबार कन्यादान दिएर सकिएको छ।
Leave A Comment