असार २८, २०८२ शनिबार
मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१० अरुणखोलमा निर्माण गरिएको सामुदायिक सभाहलको समुद्घाटन गरिएको छ । करीब एक करोड बढी लागतमा मध्यविन्दु नगरपालिकाले निर्माण गरेको सभाहलको उद्घाटन नगर प्रमुख भीमलाल अधिकारीले गर्नु भएको हो ।
उक्त समुद्घाटन समारोहमा नगर प्रमुख अधिकारीले सामुदायिक उपयोगका लागि निर्माण गरिएको सभाहल स्थानीय सम्पदा संरक्षण र समुदायको एकता प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ूसाँस्कृतिक, सामाजिक तथा सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्न यो हल अब एक प्रमुख थलो बन्नेछ ।
कार्यक्रममा उपप्रमुख पूर्णकला चौधरीले सभाहलले स्थानीय समुदायमा महिलाहरू, युवाहरू र नागरिक समाजका विविध समूहहरूलाई संगठित गर्न सहजता दिने बताउनु भयो । गण्डकी प्रदेशका पूर्व सांसद जनकलाल श्रेष्ठले सामुदायिक संरचनाहरू स्थानीय विकासको मेरुदण्ड भएको उल्लेख गर्दै यसको संरक्षण र प्रयोगमा सबैको समान योगदान आवश्यक रहेको बताउनु भयो ।
मध्यविन्दु नगरपालिका वडा नं.११ का वडा अध्यक्ष महेश भुसालले अरुणखोला क्षेत्रमा अत्यावश्यक रहेको सभाहल सञ्चालनमा आउनुले धेरै कुरामा सहज हुने बताउनु भयो । स्थानीयको माग र आवश्यकतालाई आधार मानेर प्राथमिकताका आधारमा सभाहल निर्माण गरिएको उहाँले भन्नु भयो । त्यसैगरी, नेवाः देय दबू केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राज भण्डारीले सभाहलले संस्कृति, भाषा, धर्म र परम्परालाई जगेर्ना गर्ने मञ्चको रुपमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेवाः देय दबू केन्द्रिय उपाध्यक्ष हरिकुमार श्रेष्ठले नेवारी कला, संस्कृति र समुदायको पहिचानलाई फैलाउन यस्ता संरचनाहरू अपरिहार्य रहेको बताउनु भयो ।
समुद्घाटनसँगै उक्त सभाहलको जिम्मा भीमसेन नेवाः मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । समितिका प्रतिनिधिले सभाहलको संरक्षण, नियमित प्रयोग तथा समुदायको हितमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सभाहल निर्माणले स्थानीय विकास, संस्कृति संरक्षण र सामाजिक एकताको सन्देश दिएको कार्यक्रमका सहभागीहरूले बताए थिए ।
Leave A Comment