Latest
img

वैदेशिक रोजगारीमा जानेले ध्यान दिनुपर्ने ११ कुरा के के हुन ?

प्रेम क्षेत्री
कावासोती । सुरक्षित वैदेशिक रोजगारीका लागि ११ वटा कुरामा ध्यान दिन नवलपुरका अभियानकर्ताहरुले सचेत गराएका छन् । सोमबार कावासोतीमा भएको कार्यक्रममा जिल्लाका स्थानीय अभियानकर्ताहरुले भरपर्दो मेनपावर, भरपाई, सीप तालिम, स्वास्थ्य परीक्षण, म्यादी बीमा, अभिमुखिकरण, सम्झौता, श्रम स्वीकृती, सम्पर्क नम्बर, कागजपत्र र नेपालको विमानस्थलबाट जाने हो भने समस्या नआउनेमा उनीहरुले जोड दिएका हुन् । सामी÷हेल्भेटास नेपालका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले सामी कार्यक्रम पालिका तहमा रहेकोले ‘तीन पि’ अर्थात पोल्टिकल, पोलिसि र प्रोग्राम गर्न सके वैदेशिक रोजगारीका क्षेत्रमा समस्या कम आउने तर्क गर्नुभयो । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले भौतिक विकास देखिने तर सामाजिक विकास नदेखिने तर्क गर्दै अभियानकर्ताहरुले अझै धेरै गर्न सक्ने र त्यो भूमिकाको अपेक्षा गरेको बताउनुभयो ।

सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक रितुराम सोती थापाले गतवर्ष नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै नागरिक विदेशिएको उल्लेख गर्दै यो वर्ष अझै बढ्ने देखिएको बताउनुभयो । उहाँले नवलपुरमा दैनिक सरदर ८० जना पासपोर्ट बनाउन अहिले पनि जिल्ला प्रशासन कार्यालय नवलपुर पुग्ने गरेका बताउनुभयो । गण्डकी प्रदेशबाट सबैभन्दा धेरै नवलपुरबाट विदेशिएको पाईएको छ । चालु आर्थिक वर्षको हालसम्म ९ महिनामा मात्रै नवलपुरका १३ हजार ६ सय ५७ जनाले पासपोर्ट बनाएका छन् । आप्रवासी स्रोत केन्द्रबाट उनीहरुलाई अभिमुखिकरण गर्ने गरिएको भएपनि कतिपयको अटेरीका कारण आफै समस्यामा परे भनेर आउने गरेको परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । स्थानीय अभियानकर्ताहरुमा पत्रकार, शिक्षक, सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता, सामुदायिक मेलमिलापकर्ता, रिटर्नीहरु लगायत रहेका छन् । कार्यक्रमको सहजिकरण गर्दै सामाजिक परिचालन अधिकृत प्रकाश गिरीले बढ्दो सामाजिक लागत न्यूनिकरणका लागि अभियानकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । (विजय एफएम)

Related Post

Leave A Comment