कार्तिक १३, २०८० सोमबार
पवित्रा पराजुली
गैँडाकोट । बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि नवलपुरको गैँडाकोटमा असल संस्कार कक्षा सञ्चालनमा आएको छ ।
हरेक हप्ताको शनिवार दिउँसो साढे १० बजे गँैडाकोट १ मा रहेको श्रीवैष्णव परिषदको भवनमा बालबालीकाहरू भेला हुने गरेका छन् । किताबी ज्ञानभन्दा पनि व्यवहारिक असल संस्कारका कुरा छोराछोरीलाई सिकाउन पाउँदा अभिभावक पनि खुसी छन् ।
गैँडाकोट १ की सुशिला रेग्मीले आफ्नो ६ वर्षका छोरीलाई असल संस्कार कक्षामा नियमित ल्याउने गरिएको जानकारी दिनुभयो । सामाजिक विकृति र विसङ्गति बढ्दै गएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले यसको सुरुवात गरिएको हो ।
जहाँ बालबालिकाले जीवनलाई कसरी सहज र सभ्य तरिकाले चलाउने भनेर थुप्रै सीपहरू सिक्ने सहजकर्ता श्रीधर उपाध्यायले बताउनुभयो ।
श्रीमद्भागवद्वाचिका यशोदा आमाजीले उनीहरूलाई असल संस्कार, नैतिक ज्ञान र जनकिर्तन सिकाउने गर्नु भएको छ । असल संस्कार सिकाउन सके उनीहरूको आनीबानीमा सकरात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ छ । असर संस्कार कक्षामा ४० भन्दा बढी बालबालिका सहभागी छन् ।
कक्षामा बालबालिकाको रुचिअनुसार योग, ध्यान, प्राणायम, व्यवहार कुशल सीपहरू र आचरणहरू सिकाइन्छ । असल संस्कार कक्षामा पुगेका बालबालिकाले आफ्नो रुचिअनुसारका बालकथाका पुस्तक पनि पढ्न पाउँछन् ।
Leave A Comment