Latest
img

शुक्र र वृहस्पति अस्त हुँदा कुन कुन कार्य गर्नुहुँदैन?

नवलपुर- “अस्त”को अर्थ कुनै पनि ग्रह सूर्यको नजिक आउँदा सूर्यको अधिक प्रकाशको कारण उक्त ग्रहको “प्रकाश नदेखिनु” लाई अस्त भनिन्छ। कुनै पनि ग्रह सूर्यबाट एक निश्चित दूरी सम्म रहँदा ग्रह अस्त हुने गर्छ।जस्तै शुक्र सूर्यबाट ९ डिग्री सम्मको दुरीमा रहँदा अस्त हुने गर्छ भने वृहस्पति ग्रह सूर्यबाट ११ डिग्री सम्मको दूरीमा रहँदा अस्त हुने गर्छ। कुनै पनि ग्रह अस्त हुँदा त्यस ग्रह सँग सम्बन्धित कारक तत्वमा कमी आउने हुँदा उक्त ग्रह सँग सम्बन्धित कार्यहरू गर्न निषेध गरिएको हो।

जस्तै: शुक्र ग्रह भौतिक सुख,भोग विलास,वैवाहिक सुख, सौन्दर्य,कला,प्रतिभा आदि को कारक ग्रह हो। त्यस्तै, बृहस्पति ग्रह ज्ञान,धर्म,भाग्य,चेतना आदिको कारक ग्रह हो। हिन्दू धर्ममा मुख्य गरी तीन प्रकारका सुकृत कर्महरु हुन्छन् ।

१) नित्य ,२) नैमित्तिक र ३) काम्य।

१)नित्य कर्म: नियमित रुपमा गरिने कर्म जस्तै स्नान, ध्यान, जपतप, पूजापाठ आदि ।

२)नैमित्तिक कर्म :कुनै विशेष प्रयोजन या निमित्त आउँदा हामीले गर्नै पर्ने कर्म जस्तै बच्चाको न्वारान, अन्नप्राशन, मृत्यु संस्कार तथा श्राद्ध आदि।

३) काम्य कर्म: जुराएर या हेराएर /कामनासहित गरिने कर्म जस्तै गृह आरम्भ,गृह प्रवेश,मन्दिर निर्माण,मूर्ति प्राण प्रतिष्ठा आदि।

ज्योतिष शास्त्रमा ९ ग्रहहरुमा वृहस्पति र शुक्र ग्रह नैसर्गिक शुभ ग्रह अन्तर्गत पर्दछन्।

यी दुवै ग्रह नै वैशाख महिनामा अस्त हुँदैछन्।

शुक्र अस्त: शुक्र ग्रह वैशाख १६ गते आईतबार बिहान १०:१६ मिनेटमा पूर्व दिशामा अस्त हुँदैछ ।

बृहस्पति अस्त: बृहस्पति ग्रह वैशाख २५ गते मंगलबार बिहान ९:४७ बजे पछि पश्चिम दिशामा अस्त हुनेछ ।

शुक्र र वृहस्पति ग्रह अस्त हुँदा कुनकुन कार्य गर्नु हुँदैन / निषेध गरिएको छ?

  • घरको जग खन्न ,गृह प्रवेश
  • भाकल पूजा,पहिलो पटक गरिने तीर्थयात्रा
  • नयाँ व्रत आरंभ तथा व्रतको साङ्ग्य (समापन)
  • विवाह,व्रतबन्ध,चौरासी,वास्तु पूजा
  • सप्ताह , महायज्ञ
  • कुनै पनि नयाँ व्यवसायको शिलान्यास
  • मन्दिरको उद्घाटन,प्राण प्रतिष्ठा
  • नवविवाहित दुलहीको गृह प्रवेश
  • गुरु दीक्षा र मन्त्र लिन
  • सवारी साधन खरिद गर्न
  • ग्रह शान्ति,रुद्री पूजा
  • बच्चाको कान छेदन,पहिलो पटक कपाल क्षौर
  • तुलादान ,महादान
  • गरगहना जोड्ने कार्य
  • पद ग्रहण,राज्य अभिषेक
  • लाखबत्ती, एकाहा लगाउने कार्य

यो समयावधिमा कुन कुन कार्य गर्न हुन्छ?

  • नित्य गरिने कर्म,पूजा पाठ, जप,हवन
  • भजन,कीर्तन,सत्संग,गुरु सेवा
  • यसबीचमा पर्ने चाडपर्व मनाउन मिल्छ।
  • न्वारन ,अन्न प्रशान
  • श्राद्ध,तर्पण,१३ दिने कर्म
  • एकपटक गइसकेको तीर्थ जान मिल्छ।
  • गर्दै आइराखेका व्रत गर्न सकिन्छ।

शुक्र ग्रह असार २१ गते शुक्रबार राति १२:५३ मा पश्चिम दिशामा उदय हुनेछ भने वृहस्पति ग्रह जेठ १९ गते शनिबार बिहान ११:०७ बजे पूर्व दिशामा उदय हुनेछ। शुक्र र वृहस्पति ग्रह अस्त हुनुभन्दा ३ दिन अघि र उदय भएको ३ दिन सम्म सूतक बार्नु पर्ने हुन्छ।

सुजल गिरी

(केन्द्रीय सदस्य)

नेपाल कृष्णमुर्ती ज्योतिष परिषद्

 

Related Post

Leave A Comment