नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । जिल्लामा रहेका धार्मिकस्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका लागि यहाँका मठ मन्दिर परिचित रहेका छन । जिल्लाका एक दर्जन बढी धार्मिक पर्यटकीयस्थल मध्ये पाँच प्रमुख गन्तब्य पर्यटकीय आकर्षणको रुपमा रहेका छन् ।जिल्लामा रहेका धार्मिकस्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका लागि यहाँका मठ मन्दिर परिचित रहेका छन । जिल्लाका एक दर्जन बढी धार्मिक पर्यटकीयस्थल मध्ये पाँच प्रमुख गन्तब्य पर्यटकीय आकर्षणको रुपमा रहेका छन् ।
त्रिवेणी धाम
त्रिवेणी धाम नवलपुरको प्रमुख पर्यटकीय क्षेत्रमध्यको एक हो । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको त्रिवेणी धाम जिल्लाकै दक्षिण भूभागअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–६, मा अवस्थित रहेको छ । भारतीय सीमा क्षेत्र नजिक रहेको त्रिवेणी धाम तमसा, स्वर्ण भद्र र नारायणी नदीको सङ्गमस्थलमा रहेको छ । यिनै तीन नदीको सङ्गमस्थल भएकाले नै यो क्षेत्र त्रिवेणी धामका रुपमा नामकरण भएको हो । त्रिवेणी धाममा रहेका गजग्राह, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण, हनुमान, शिव पार्वतीका मन्दिर आदि यहाँका आकर्षण हुन । योसँगै त्रिवेणी धाममा रहेको सिस महलले यहाँ पुग्ने जो कोहीको मन तान्ने गर्दछ । सिसै सिसाले मन्दिरको भित्री भाग निर्माण गरिएको छ ।
त्रिवेणी धाममा साउन महिनामा धार्मिक यात्रामा जानेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । माघे औँसी, शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । “त्रिवेणी धाम आफ्नो पालिकामा पर्ने भए पनि देशकै प्रमुख धार्मिक क्षेत्र हो, यहाँ थप पर्यटकीय प्रवद्र्धन गर्न योजना बनाइरहेका छौँ”, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरीले भन्नुभयो । भारतीय सीमासँग जोडिएकाले यसको थप प्रवद्र्धन गरी लाखौँ भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।
मौलाकालीका मन्दिर
नवलपुरको धार्मिक पर्यटकीय क्षेत्रमध्यको एक प्रसिद्ध मौलाकालीका मन्दिर हो । नवलपुरको गैँडाकोट नगरपालिकाअन्तर्गत पर्ने यो मन्दिर आजभन्दा करिब दुई सय वर्ष पहिले पाल्पाली राजा मुकुन्दसेनको पालामा स्थापना भएको मानिन्छ । हाल यहाँ प्यागोडाशैलीको आकर्षक मन्दिर निर्माण गरिएको छ ।
पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ पहाडको टुप्पोमा समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा मौलाकालीका मन्दिर रहेको छ । मन्दिर परिसरबाट गैँडाकोट, भरतपुर, नारायणी नदी, देवघाट धाम क्षेत्रदेखि मनोरम हिमाली दृश्यसमेत अवलोकन गर्न सकिन्छ । मौलाकालीका मन्दिरको दर्शनका लागि देशका विभिन्न भूगोलसहित भारतबाट समेत बर्सेनि हजारौँ धार्मिक पर्यटक आउने गर्दछन् । मौलाकाली मन्दिरमा पुग्न थप सहजता होस् भनेर यहाँ केबुलकार सञ्चालनको तयारी गरिएको छ ।
दाउन्ने देवी मन्दिर
विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने नवलपुरको अर्को प्रमुख धार्मिक पर्यटकीयस्थल दाउन्ने देवी मन्दिर हो । दाउन्ने पर्वतमा अवस्थित मन्दिर राजमार्गको छेउमा रहेको र यातायातको सहज पहुँचका कारण पनि यो मन्दिरको महत्व बढेको छ । दाउन्ने पहाडको काखमा एक हजार २३ मिटर अग्लो उचाइमा रहेको यो मन्दिरको स्थापना संवत् १८८० मा गरेको बताइन्छ । राणाकालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सौजन्यबाट देवी मूर्ति प्राप्त भएपछि यहाँ स्थापना गरिएको मान्यता रहेको छ ।
दाउन्ने मन्दिर जाँदा यात्राको बीच भागमा बौद्धमार्गीको गुम्बा भेट्न सकिन्छ । कलात्मक गुम्बा यहाँको आकर्षणका रुपमा रहेको छ । विशेष गरी साउन महिनाभरि भक्तजनको उल्लेख्य उपस्थित रहने गर्दछ । यस बाहेक अन्य समयमा समेत भ्रमणका लागी धार्मिक पर्यटक यहाँ पुग्ने गर्दछन् ।
अकलादेवी माई
जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रमध्येको अकलादेवी माइको मन्दिर बौदिकाली गाउँपालिका–२ डेढगाउँमा पर्दछ । यो मन्दिर पहाडी क्षेत्रको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमध्ये पर्दछ । हाल निर्माणाधीन कालीगण्डकी करिडोरसँगै अकलादेवी जोडिएको छ । कालीगण्डकी करिडोरले यसको महत्व थप बढाएको छ र करिडोर निर्माणसँगै यसको संरक्षण गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ । स्थानीय जनश्रुतिअनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएतापनि फेरि अर्को दिन सोही स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको बिश्वास गरी मन्दिर स्थापना गरिएको भनाइ छ ।
मन्दिर नजिकै अकला गुफासमेत रहेको छ । चैत पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । नवलपुरसहित छिमेकी जिल्ला तनहुँ, स्याङ्जा, पाल्पा, चितवन, गुल्मी, कास्कीसहित देशका अन्य भागबाट समेत भक्तजन मनोकामना पूरा हुने मान्यताले पूजाअर्चनाका लागि अकलादेवी आउने गर्दछन् ।
शाश्वतधाम
नवलपुरको देवचुली नगरपालिका–२ मा शास्वतधाम रहेको छ । शाश्वतधाम पछिल्लो समय पर्यटनको प्रमुख गन्तव्य बनेको छ । शाश्वतधाम पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ ।
सनातन धर्मको आध्यात्मिक र धार्मिक महत्वलाई सुरक्षा गर्न पुरातात्विक तथा आधुनिक शिल्पी उपयोग गरेर धाम निर्माण गरिएको छ । ‘धर्मो रक्षति रक्षति’ अर्थात् धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै देवचुली र वडाचुली पहाडको काखमा अवस्थित शाश्वत धाम नेपालकै एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिएको छ । करिब सात बिघा क्षेत्रफलमा फैलिएको धामको मध्यभागमा दक्षिणी भारतमा प्रसिद्धी कमाएको खजुराव शैलीमा बनेको एकाम्बरेश्वर महादेवको मन्दिर रहेको छ । यो मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ । यो तालमा बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, पशुपतिनाथजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइने भएकाले यो ताललाई ‘सर्वोतीर्थ सरोवर’ नामकरण गरिएको छ ।
मन्दिरका अलावा धाममा गुरुकुल, विद्याश्रम, बौद्ध, चैत्य, बुद्धिष्ट सेन्टर, दशद्वार, अर्जुनरथ, ढुङ्गेधारा, श्रीकृष्ण लीला, वैदिक खेल (लीला), अखण्ड अग्नि कुण्ड, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक सङ्ग्रहालय, धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ हल रहेका छन् ।
शाश्वत धामको गत महिनासम्ममा ४२ लाखले अवलोकन गरेको जनाइएको छ । पाँच वर्षको अवधिमा यो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकले यसको अवलोकन गरेका हुन् । शाश्वत धामलाई नेपाल सरकारले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरिसकेको छ । रासस
Leave A Comment