पुष ५, २०८१ शुक्रबार
कावासोती- कावासोती नगरपालिकाको वडा नम्बर १ मा आजदेखि सातौं नगर स्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । कावासोती नगर खेलकुद समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ को कार्यालय एवं नव छहारी सङ्गम युवा क्लवको समन्वयमा आजबाट शुरु भएको प्रतियोगिता १५ गतेसम्म हुने छ ।
प्रतियोगिताको आज कावासोती नगरपालिकाका नगर प्रमुख विष्णप्रसाद भुसालले उद्घाटन गर्नुभएको थियो । आज भएको उद्घाटन खेलमा कावासोती ३ ले कावासोती ७ लाई ५–१ गोल अन्तरले पराजित गरेको कावासोती नगर खेलकुद समितिको उपाध्यक्ष तिर्सन घर्ति मगरले बताउनुभयो । आजको खेलमा कावासोती ३ का प्रकाश पुन मगर म्यादन अफ दि म्याच भएका थिए । उनले १२ र २९ मिनेटमा गरी २ गोल गरेका थिए ।
कावासोती नगरपालिकाका १७ वटा वडाका १७ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उप बिजेताले नगद ३० हजार रुपैयाँ राशीको पुरस्कार पाउने छन् । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सवोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । नगरमा खेलाडीहरु उत्पादन गर्न र खेलाडी क्षमता प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । त्यसैगरी भोलिको पहिलो खेल कावासोती १० र ६ बीच हुनेछ भने दिउँसो १२ बजे कावासोती १२ र १४ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
Leave A Comment