मध्यविन्दु – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई पाँच हजार सहितको बैङ्क खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा गाउँपालिका भित्र जन्मिएका ५६ जना छोरीहरूको बैङ्क खातामा पाँच हजार रकम जम्मा गरिएको हो ।
हुप्सेकोट गाउँपालिका भित्र स्थाइ बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैङ्क खातामा गाउँपालिकाले नगद पाँच हजार जम्मा गरिदिने गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । “चालु आवको चैत मसान्त सम्म जन्मीएका ५६ जना छोरीहरुको बैंक खातामा पाँच हजारका दरले दुई लाख ८० हजार रकम गाउँपालिकाले निकाशा गरेको छ”,उहाँले भन्नु भयो,“छोरीको बैंखक खातामा अभिभावकलाई समेत कम्तीमा पाँच हजार रुपैयाँ जम्मा गर्न आग्रह गर्ने गरेका छौ ।”
‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो । छोरीकै नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । छोरीको नाममा बैङ्क खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षा सहित बचत गर्ने बानीको विकाश गर्न यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
“यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ”,उहाँले भन्नु भयो,“छोरी जन्मँदा खुसी नहुने समाजमा छोरी प्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”
हुप्सेकोट गाउँपालिकाले आ.व. २०७७/७८ देखि सुरु गरेको ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत गत वर्ष सम्म २५६ जना छोरीहरुको बैक खातामा पाँच हजार जम्मा गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले बताउनु भयो । चालु आ.वको समेत जोडदा अहिले सम्म ३१२ जना नवजात छोरीहरुको बैंक खातामा रकम पठाइएको पराजुलीले जनकारी दिनु भयो ।
“आव २०७७/७८ मा ३८ जना, ०७८/७९ मा ५९ जना, ०७९/८० मा ९७ जना र ०८०/८१ मा ६२ जना बालिकाहरूको बैङ्क खातामा रकम जम्मा गरिएको छ”,उहाँले भन्नु भयो । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सञ्चालन गरिए पछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्व परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिने लगायतका सकारात्मक बानीको विकाश भएको हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताउनु भयो ।
Leave A Comment