Latest
img

रोगलाई जितेपछि नगर प्रमुख आफैँ प्रचारमा

नवलपुर- बाहिर धाराको, बोतलको पानी पिउनै नमिल्ने, फ्रिजको पानी र आइस त छुनै नहुने भएपछि नवलपुरको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले १० वर्षसम्म थर्मसमा तातो पानी बोकेर हिँड्नुभयो ।

उहाँलाई पाइल्स, प्रोस्टेट, ग्यास्टिक, दम, श्वास प्रश्वास, टन्सिल र घुँडा खिइएको गरी ७ वटा रोगले गाँजेको थियो । उपचारका लागि उहाँले देश विदेशका ५० भन्दा बढी अस्पताल धाउनुभयो । तर कतै गए पनि रोग निको भएन ।

‘‘पछिल्लो समय म घुँडाको समस्या लिएर काठमाडौँको बिएन्डबी अस्पताल पुगेँ, त्यहाँ शल्यक्रिया गरी घुँडा फेर्नुपर्छ भनियो । छिटो शल्यक्रिया गर्न घर सल्लाह गरी रकम जोहो गर्न भन्दै एक झोला औषधी दिएर पठाइयो’’ नगरपालिका भित्रको प्राकृतिक चिकित्सालयमा भेटिनु भएका नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘मैले सबै औषधी एकातिर थन्क्याँए र अन्तिम पटक यो चिकित्सालयमा उपचार गराउँछु भन्ने सोचेर यहाँ आएँ । एक महिनाको बसाइले अहिले म सबै रोग जितेर निको भएको छु ।’’

५० वटा अस्पतालमा पुगेर उपचार गराउँदा थाकेका नगर प्रमुख न्यौपानेलाई अहिले रजहरमा रहेको चिकित्सालय बत्ती मुनिको अँध्यारोजस्तो लाग्न थालेको छ । त्यसैले उहाँले नगर प्रमुख भएको तीन वर्षपछि पहिलो पटक नगर परिषद् बैठकबाट निर्णय गराएर चिकित्सालयका लागि बजेट विनियोजन गराउनुभएको छ । प्रचार प्रसारमा जुट्न नीति तथा कार्यक्रममा समेट्नुभयो ।

‘‘मेरो पालिकाको मेरै वडाभित्र रहेको यो प्राकृतिक चिकित्सालयका बारेमा जनप्रतिनिधि भएर म आफै अनभिज्ञ रहेछु, अब यसको देशव्यापी प्रचारमा लाग्नुपर्छ भन्ने महसुस भयो’’ न्यौपानेले भन्नुभयो, ‘‘प्राकृतिक उपचार पद्दति र यो विधाका बारेमा म लगायत धेरैलाई जानकारी रहेन छ भन्ने सोचेर बजेट विनियोजन गरी अब प्रचारमा लाग्नुपर्छ भन्ने योजना बनाएका छौं ।’’

हुन त प्रचारप्रसार नपुगेको यो चिकित्सालयले पनि महसुस नगरेको होइन । महायज्ञ लगाएर १७ वर्षअघि अस्पताल सुरु गर्दा नै योजना समावेश थियो । तर अस्पतालसँग गाडी थिएन, न त पर्याप्त बजेट नै थियो ।

नगरपालिकाले प्रचारमा हिड्न पनि मिल्ने र बिरामी बोक्न सहज हुने एउटा गाडी र आवश्यक बजेटसहित देशभरका सात सय ५३ वटै पालिकामा पुग्न राखेको प्रस्ताव अस्पतालले पनि स्वीकार गरेको छ ।

‘‘हामीसँग योजना थियो, तर बजेट थिएन । यहाँको बारेमा सबै नागरिकले जानकारी पाएनन्, जो बेडमा छटपटाएर, म यसै मर्ने भएँ भन्ने सोच्दै पीडामा बसेका छन् । ती सबैलाई प्राकृतिक चिकित्सालयसँग जोड्ने र निको बनाउने हाम्रो उद्देश्य हो, अब त्यही उद्देश्यअनुसार हामी मुलुकका सबै पालिकामा जाने तयारी गरिरहेका छौं’ अस्पतालका व्यवस्थापक हरिप्रसाद सापकोटाले भन्नुभयो ।

अब नगरपालिकाको सहयोगमा आगामी साउन १ गतेदेखि गण्डकी प्रदेशबाट यात्रा प्रारम्भ गर्ने सापकोटाले बताउनुभयो । ‘‘हामीसँग जनशक्ति पर्याप्त छैन, सीमित जनशक्तिका बावजुद अस्पताललाई पनि प्रभाव नपर्ने गरी हामी सबै पालिका र वडा तहसम्म पुग्ने योजना बनाएका छौं’’ सापकोटाले भन्नुभयो, ‘‘नगर प्रमुखज्यूले पनि सकेसम्म सबै ठाउँमा आफू पनि पुग्ने र आफूले पाएको स्वास्थ्य लाभका बारेमा सबैलाई बताउँछु भन्नु भएको छ । यो हाम्रो लागि पनि सहज पक्ष हो ।’’

उपचार गर्दागर्दै थाकेका र अन्त कतै निको नभएका र स्वस्थ व्यक्तिहरूका लागि पनि यहाँको उपचार पद्दति उपयुक्त भएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । ‘‘व्यवस्थापक र चिकित्सकसहित सबै पालिकामा सकेसम्म म आफै पनि पुग्ने निर्णय गरेको छु । त्यहाँ मैले पाएको स्वास्थ्य लाभका बारेमा सबैलाई भन्ने छु’’ न्यौपानेले भन्नुभयो, ‘‘कोरोनाकालमा हजारौंले स्वास्थ्य लाभ लिए । कसैले पनि मृत्युवरण गर्नु परेन । यो सबै विषयमा आम नागरिकलाई जानकारी गराउनुपर्छ ।’’

कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यो चिकित्सालयले ख्याति कमाएको थियो । अस्पतालका सहायक निर्देशक डा. आजाद पुरीका अनुसार दुई वर्षको दुधे बालकदेखि मुटुको शल्यक्रिया गरेर अक्सिजनको निबुलाइजर लगाएका ८९ वर्षीय वृद्धसहित ७ सय ८९ जना कोरोना सङ्क्रमित बिरामी सबै निको भएर घर फर्केका थिए ।

पालिकामा जानुको उद्देश्य रकम सङ्कलन भने नरहेको व्यवस्थापक सापकोटाले स्पष्ट पार्नुभयो । ‘‘हामीलाई केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले सहयोग गरेका छन्, त्यसैले सबैले यहाँको उपचार पद्दतिका बारेमा जानकारी र उपचार लिन पाउनु सबै नागरिकको स्वास्थ्य अधिकार हो ।’’

सापकोटाका अनुसार वर्षमा एक हप्ता मात्र यहाँ बसेर उपचार गर्दा गाडीजस्तै शरीर सर्भिसिङ हुन्छ । यहाँको उपचार पद्दतीले हरेक अङ्गको प्रारम्भिक उपचार हुने भएकाले हृदयघात हुने, मिर्गौला फेल हुने, कब्जियत, एन्जाइटी, डिप्रेसनको सम्भावना पनि पूर्ण रूपमा निको हुने सापकोटाको दाबी छ ।

‘‘यहाँको उपचार पद्दतिले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवि बनाउँछ । यो उपचार पद्दति रोगी र निरोगी दुबैका लागि आवश्यक भएकाले हरेक तहका सबै वडामा जान खोजिएको हो” व्यवस्थापक सापकोटाले भन्नुभयो ।”
बाेमलाल गिरी गाेरखापत्र अनलाइन

Related Post

Leave A Comment