मध्यविन्दु- लामो समयदेखि बन्न नसकेको नवलपुरको कावासोतीस्थित ग्रामीण सडक कालोपत्रे बनेपछि यहाँका स्थानीय खुसी भएका छन्। नवलपुरको कावासोती नगरपालिकाको ७, ८, ११, १२, १३ र देवचुली नगरपालिकाको १५ नं वडासम्म छुने ग्रामीण सडक कालोपत्रे सुरु गरिएपछि आवतजावतमा सहज हुने भन्दै स्थानीय खुसी छन् ।
पूर्व पश्चिम राजमार्गदेखि नजिकैको दूरीमा रहेर पनि आजसम्म स्तर उन्नति हुन नसकेर पछाडि परेको सडक यस वर्ष कालोपत्रे सुरु गरिएको हो । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी २०७८ सालमा सम्झौता भएर काम थालिएको सडक अहिले कालोपत्रे सुरु गरिएको हो।
कावासोती आठ लुम्बिनी डिग्री कलेजबाट सुरु भएको यो सडक वडा नम्बर ७ को टरुवा ताल हुँदै १२ को पिठौली ११ नम्बर वडा हुँदै देवचुली नगरपालिकासम्म छोएको छ । अहिले कावासोती १२ मा करिब १२ सय मिटर सडक कालोपत्रे भएको छ ।
यसै आर्थिक वर्षको पुस मसान्तसम्म कालोपत्रे सम्पन्न गर्ने गरी ड्रयागन कन्स्ट्रक्सनसँग सम्झौता भएको छ । करिब ३२ करोडको लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी सडक डिभिजन भरतपुरमार्फत यहाँ रेखदेख गर्ने गरी काम भइरहेको छ ।
कार्यालयका इन्जिनियर आशिष गौतमका अनुसार सम्पन्न गर्नुपर्ने १२ किलोमिटर सडकमा कावासोती १२ पिठौलीबाट कालोपत्रे सुरु गरिएको र क्रमशः सबै सडक कालोपत्रे गरिने बताउनुभयो । सबै सडकमा ग्राभेलको काम सकेर अब कालोपत्रे गर्न मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीले वर्षा लगत्तै बाँकी रहेको क्षेत्रमा कालोपत्रेको काम सुरु गर्ने जनाएको उहाँले जानकारी दिनुभएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको बहु पालिका जोड्ने सडक निर्माण योजना अन्तरगत यो सडक निर्माण सुरु गरिएको कावासोती १२ का वडा अध्यक्ष अध्यक्ष ध्रुव खनाल (दिपेशले) बताउनुभयो । निकै पुरानो सडक भएर पनि ओझेलमा परेको भन्दै भन्दै उहाँले अब भने सडक कालोपत्रे भएपछि सहज हुने बताउनुभएको छ । ‘पछि खुलेका सडकहरू धमाधम कालोपत्रे भएको अवस्थामा, निकै पुरानो, अनि बजारबाट नजिकै भएर पनि यो सडक उपेक्षामा परेको थियो ।
यहाँबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्नुभएका जनप्रतिनिधि र स्थानीयहरूको बारम्बारको दबाबबाट बल्ल यो सडक निर्माण सम्पन्न हुन लागेको छ । त्यसैले अब धेरै कुरामा सहज पनि हुन्छ,’ खनालले भन्नुभयो ।
सडक मापदण्ड अनुसार बनोस् र समयमै बनोस् भन्नका लागि आफूहरूले समन्वय सहकार्य गर्दै आएको उहाँले बताउनुभयो । सडक निर्माणका क्रममा देखिएका विभिन्न समस्यालाई समाधान गरी अहिले कालोपत्रे गर्न सफल भएको उहाँको भनाइ छ ।
स्थानीय मायादेवी कंडेल लम्साल विगत १८ वर्षदेखि यहाँ बसोबास गर्दै आउनुभएको छ । बाटोका कारण भोगेको सास्तीलाई सम्झँदै उहाँले कालोपत्रे बनेपछि निकै खुसी लागेको बताउनुहुन्छ । ‘सबैतिर कालोपत्रे बन्दा हाम्रो गाउँमा कहिले होला भन्ने लाग्थ्यो, पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर हैरान हुन्थ्यो, साइकल स्कुटरमा हिँड्न पनि गाह्रो थियो । खाल्डाखुल्डी र हिलोमा फस्थ्यो ।’
लम्सालले थप्नुभयो, ‘कालोपत्रे भएपछि धेरै खुसी छौँ, अब त आफ्नो साधनमा कावासोती र देवचुली पाँच सात मिनेटमै पुगिन्छ, अटो म्याजिक पनि घरमै लिन आउँछन् बाटो नबन्दा त लिन आउन पनि मान्दैनथे ।’
ग्रामीण क्षेत्र भएको हुँदा यहाँ खेती किसानी हुँदै आएको छ । व्यावसायिक रुपमै तरकारी खेती गर्नेदेखि पशुपालन र माछापालनको पकेट क्षेत्र मानिने यस क्षेत्रमा कृषिजन्य उत्पादन ढुवानी गर्नका लागि पनि सडक बनेपछि सहज बनाएको स्थानीय यज्ञ काफ्लेले बताउनुभयो ।
Leave A Comment