Latest
img

दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोटमा हुने दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ को तयारी पूरा भएको छ । यहि माघ २६ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । आईतबार नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले नव प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थाको नाममा खेलमैदानको जग्गा प्राप्ती, मैदानको संरक्षणका लागि तटबन्धन लगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी नै रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपस्थित गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताउनुभयो । साथै उहाँले प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय रहेको बताउनुभयो । उहाँले नेपाल क्रिकेट संघमा आवद्ध छिमेकी जिल्लाहरुलाई आधार बनाई टिम छनोट गरिएको बताउनुभयो ।

प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकाश पौडेलले मापदण्ड अनुसार खेलमैदान योग्य रहेको बताउनुभयो । साथै उहाँले दुई वटा पिच निर्माण लगायत खेल मैदानको क्षेत्रफल विस्तारमा जोड दिन सुझाव दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र एवं उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष विष्णुप्रसाद कंडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी ८ टिमको सहभागिता रहने प्रतियोगिताका सञ्चार संयोजक एवं आयोजक संस्थाका सचिव नारायण सापकोटाले जानकारी दिनुभयो ।

‘स्वास्थ्य एकता र समुन्नतीका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ नवजागरण ग्रामिण विकास केन्द्रको आयोजना, गैँडाकोट नगरपालिकाको प्रवद्र्धन, नवलपुर जिल्ला क्रिकेट संघ, गण्डकी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट संघको समन्वयमा नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, ईमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई ५÷५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ सय, कप तथा मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको मुख्य प्रायोजक इनाक्षी इन्टरटेन्मेन्ट प्रा.लि. एण्ड सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलिया, प्रायोजक जयश्री फुड्स प्रा.लि. गैँडाकोट र एम्स एब्रोड एजुकेशन भरतपुर रहेका छन् ।

सह–प्रायोजकमा कर्मा रेष्टुरन्ट एण्ड सेकुवा कर्नर, कालिका रिफाईनरी प्रा.लि., शुभलक्ष्मी सेनेटरी उद्योग, स्मार्ट टेक एग्रो एण्ड बायो इनर्जी प्रा.लि. र नारायणी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर र पर्वतबीच २६ गते ११ बजे प्रतिस्पर्धा हुँदैछ ।

सोही दिन खेल मैदान नजिक निर्माण गरिएको क्रिकेट प्रशिक्षण केन्द्रको उद्घाटन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता राष्ट्रिय खेलाडीले समेत सहभागिता जनाउने छन् । प्रतियोगिता अवधिभर खेलाडीलाई निःशुल्क खाने बस्ने व्यवस्था मिलाइएको छ । प्रतियोगिता अवधिभर करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Related Post

Leave A Comment