Latest
img

साप्ताहिक दोश्रो विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजा सम्पन्न

यामु कुमाल

नवलपुर-नवलपुरको कावासोतीमा सञ्चालन भएको दोश्रो विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजा आइतबार सम्पन्न भएको छ । जिल्लाको कावासोती नगरपालिका ३ नमुना सदरमुकाम स्थित रहेको वरचुली बौद्ध गुम्वाको आयोजनामा भएको साप्ताहिक विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजा आइतबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो ।

कार्यक्रम वरचुली बौद्ध गुम्वाका अध्यक्ष मान वहादुर गुरुङको सभाध्यक्षता एवम् समाजसेवी दानवीर दाता ज्येष्ठ नागरिक गम वहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । विश्वशान्ति त्रिपिटक (कङ्ग्यूर) महापूजाको अन्तिम दिन आइतबार अवतारी लामा गुरु टुल्कु थरछिङ रिम्पोर्छेबाट वाङ्ग अभिषेक र टप्चे कार्यक्रम गरिएको थियो ।

यस्तै कार्यक्रममा विश्वशान्ति महापुजा पाठवाचनका प्रमुख खेन्पो रिम्पोर्छे डाक्टर दशरथ गुरुङ र तमु लामा बौद्ध धर्म समाजका केन्द्रीय शाखा प्रमुख लामा रक्षा गुरुङ लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको विशेष आतिथ्यता रहेको थियो ।  यस्तै कार्यक्रममा कङ्ग्यूर) महापूजामा दान गर्ने दारवीरदाताहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो ।

माघ १६ गतेदेखि सुरु भएको कङ्ग्यूर महापूजा आइतबार विधिवत रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । विश्वका सम्पूर्ण मानव कल्याण र प्राणी जगतको उद्धारको निम्ती पूजा पाठ , जप तप , प्रार्थना , बन्दना गरी प्रत्येक मनुष्यमा आध्यात्मिक चिन्तनका साथै अहिंसा , शान्ति , सत्य र न्यायको मार्ग अबलम्वन गरी मानवविच तनाव द्धन्द्ध अन्त्य होस् भन्ने उदेश्यका साथ कङ्ग्यूर महापूजा सञ्चालन गरिएको थियो । विश्वशान्ति त्रिपिटिक पाठवाचनमा बौद्ध धर्मग्रन्थको १०८ ठेली पुस्तक १०१ जना श्रद्धेय लामा गुरुहरुबाट वाचन गराइएको थियो ।

Related Post

Leave A Comment