कार्तिक १३, २०८० सोमबार
पवित्रा पराजुली
गैँडाकोट । नवलपुर जिल्लाबाट २ जना गैर आवासिय नागरिकलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरबाट दशैँ अगाडी नै २ जनालाई गैर आवासिय नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नागरिकता शाखाका प्रशासकीय अधिकृत रविन्द्र प्रसाद ढुंगानाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २ जनाको मात्र आवेदन परेको र उनीहरु दुवैजनालाई नागरिकता प्रदान गरिएको ढुंगानाले बताउनुभयो ।
त्यस्तै चितवनमा गैरआवासीय नागरिकलाई सोमबारदेखि नागरिकता वितरण गरिने भएको छ । नागरिकता वितरणका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र भोलिबाट वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।
एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन । यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।
Leave A Comment