Latest
img

धान ब्लक विकास कार्यक्रम अन्तरर्गत कृषक समुहलाई सामाग्री वितरण

नवलपुर
कृषि ज्ञान केन्द्र नवलपुरले व्यवसायिक कृषि उत्पादन केन्द्र(धान ब्लक) विकास कार्यक्रम अन्तरर्गत कृषक समुहलाई सामाग्री वितरण गरेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर ४ लुसलहरीको शिरथान कृषक समूहलाई आज एक कार्यक्रमको आयोजना गरी कृषि औजारहरु वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समितीका प्रमुख बावुराम विश्वकर्माले कृषकहरुलाई कृषि सामाग्री वितरण गर्दै कृषि पेशामा आत्मनिर्भर हुनका लागि आधुनिक कृषि औजारहरुको आवश्यकता रहेको बताउनुभयो । लुसलहरी क्षेत्रका कृषकहरुलाई व्यवसायिक कृषि उत्पादन केन्द्र कार्यक्रमले धरै सहयोग पुग्ने भन्दै आगामी दिनमा कृषकका समस्याहरुलाई सम्बोधन गर्न आफुले सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपाध्यक्ष शकुन्तला लम्सालले व्यवसायिक कृषि उत्पादन आजको अवश्यकता भएको हुदा कृषि सामाग्रीको प्रयोगले कृषकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । यस कार्यक्रम अन्तरर्गत कृषकलाई मल, बिउ संगै आवश्यक कृषि सामाग्री र सिंचाईको पुर्वाधार समेत निर्माण गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो । कृषि उत्पादन बढाउन संचालन गरिने ब्लक क्षेत्रको समय अवधि भने २ वर्ष मात्रै भएको जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र मार्फत २४ लाख १३ हजार ७ सयको लागतमा धान ब्लक कार्यक्रम शुरु भएको हो । कृषि ज्ञान केन्द्रको मल,बिउँ,धान काट्ने मेशिन, स्प्रे टंकी,त्रिपाल सहित आवश्यक कृषि सामाग्रीमा ५० प्रतिशत अनुदान, ३ सानो र १ ठूलो गरी ४ वटा ट्युवेल सहित सिंचाइ पुर्वाधारमा ८५ प्रतिशत अनुदान रहेको बाली विकास अधिकृत दिनेश पाठकले बताउनुभयो ।
धान काट्ने हाते मेशिन पाएर शिरथान कृषक समूहका सदस्य ज्ञानराम चौधरी निकै खुसी हुनुभयो । उहाले भन्नुभयो“ हाते मेशिन युटुवमा देखेको थिए आज आफैले प्रयोग गर्न पाउदा निकै खुसी लागेको छ । खेतमा पानी जम्ने हुदा धान काट्न ठूलो मेशिनले गाह्रो भएको थियो अब हाते मेशिन भएसी धान काट्न मात्रै होइन अन्य बाली भित्राउन पनि सजिलो हुनेभयो।”

ठूलो ट्याक्टर भनेको समयमा नपाउने र महंगो भएको भन्दै खेत जोत्नको लागि हाते ट्याक्टर सजिलो हुने खड्क नारायण चौधरीले बताउनुभयो । हाते ट्याक्टर पाएर खुसी व्यक्त गर्दै चौधरीले कृषकको लागि हाते ट्याक्टर उपयुक्त र लाभदायक भएको बताउनुभयो । व्यवसायिक कृषि उत्पादन केन्द्र(धान ब्लक) कार्यक्रम १ सय २० हेक्टर क्षेत्रफलमा संचालन हुने र २ सय २० घरधुरी लाभाम्वित हुने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

 

Related Post

Leave A Comment