Latest
img

दाउन्नेमा थप सास्ती

नविन पौडेल

परासी — नवलपरासीको बर्दघाट नगरपालिका–४ खुसार्नी खोलामा गत सोमबार पूर्वपश्चिम राजमार्ग भासियो । भासिएको सडकभन्दा माथि रहेका बिजुलीको हाइटेन्सन लाइनका पोल पनि ढले । दसैंको मुखमा राजमार्ग बन्द भएपछि रातारात मर्मत गरेर भोलिपल्ट बिहानैबाट एकतर्फी यातायात सञ्चालनमा ल्याइयो । तर, सवारी चापले दाउन्ने खण्डको दुम्कीबासदेखि बर्दघाटसम्मको करिब १५ किलोमिटर दूरी पार गर्न चार घण्टा लाग्यो ।

सडक विभाग र स्थानीय प्रशासनले असोज १५ मा राति १० बजेदेखि असोज १६ गते बिहान ५ बजेसम्म आवागमन नै बन्द गरेर सडक मर्मत गर्‍यो । त्यसपछि केही सहज भएको आवागमन फेरि उस्तै भएको छ । शुक्रबार साँझ सोही स्थानमा सडक भासिएपछि यातायात आवागमन प्रभावित बनेको छ ।

भासिएको सडकलाई पुरेर शुक्रबार मध्यरातिबाट हलुका सवारीसाधन सञ्चालनमा आए पनि ठूला र बढी भार भएका साधन सञ्चालन भएलगत्तै फेरि राजमार्ग भासिएपछि एकतर्फी बनेको थियो । आइतबार बिहानबाट मात्रै उक्त खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि जोखिम कायमै छ । अकस्मात् सडक खुल्ने र बन्द हुने क्रमले यात्रु र चालकले सास्ती खेपिरहेका छन् । कति बेला ट्राफिक जाम भएर घण्टौं रोकिनुपर्ने हो यकिन छैन ।

कावासोती–१७ का कमलराज जैसी पूर्वी नवलपरासीको डन्डाबाट पश्चिम नवलपरासीको भुमहीका लागि शनिबार बिहान ११ बजे गाडी चढे । दाउन्नेमा ट्राफिक जाम भए पनि एकतर्फी सञ्चालनमा आएको थाहा पाएपछि हिँडेका जैसीलाई ६० किलोमिटर सडक पार गर्न ६ घण्टा लाग्यो । श्रीमती र छोराछोरीसहित यात्रामा निस्किएका उनले यो खण्डमा अहिलेसम्म यस्तो दुःख नपाएको सुनाए ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खनिएको खाडल, धूलो र हिलोले गर्दा यसै पनि यो सडकखण्डको यात्रा कष्टकर छ । त्यसमाथि घण्टौंसम्म ट्राफिक जाममा पर्नुपर्ने समस्याले यात्रु आजित हुनुपरेको विनयीत्रिवेणी–२ दाउन्नेकी अंशु भट्टराईले बताइन् । ‘दाउन्नेबाट बर्दघाटसम्मको ७ किलोमिटर पार गर्न दुई घण्टा लागिरहेको छ, लामो दूरीका यात्रुलाई निकै दुःख छ,’ उनले भनिन्, ‘दुईतर्फ पहाड र जंगल भएको स्थानमा जाममा परेका यात्रुले पानी, खाजासमेत पाउँदैनन् ।’

पूर्वपश्चिम राजमार्गको दाउन्ने क्षेत्रको १५ किलोमिटर खण्डमा बेलाबेला सडक भासिने र पहिरो जाने भइरहेको छ । अरू बेला पनि यो खण्डमा एउटा सवारी बिग्रिँदा एकतर्फी यातायात सञ्चालन हुने अवस्था हुन्छ । पहिरो जाने, सामान्य वर्षाले पनि अचाक्ली हिलो हुने भएकाले सवारी चिप्लिने समस्या छ । राजमार्ग विस्तार सुरु भएयता यो समस्या बढ्दै गए पनि चाडबाड तथा बढी सवारीसाधनको चाप हुने बेलासमेत समस्या समाधानको प्रयास नभएको यात्रु र चालकहरूको गुनासो छ ।

Related Post

Leave A Comment