अषोज २३, २०८१ बुधबार
बोमलाल गिरी
नवलपुर- नवलपुरको हुप्सेकोटमा रहेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दसैँलक्षित धमाधम खसीबोका बिक्री गरिरहेको छ । गाउँघरका अन्य मानिसलाई दसैँको किनमेल, घरआँगन सरसफाइ गर्न, रङरोगन गर्न भ्याइनभ्याइ भए जस्तै हुप्सेकोटका महिलालाई भने अहिले दसैँका लागि खसीबोका बिक्री गर्न भ्याइनभ्याइ छ । गाउँबाट खसीबोका खरिद गरेर हुप्सेकोटको झ्यालबासमा रहेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारीले बजारसम्म खसीबोका पुर्याउने गरेको छ । यहाँ ठुला व्यापारीदेखि साना व्यापारी तथा स्थानीय बासिन्दा पनि खसीबोका खरिदका लागि आउने गरेको सहकारीका अध्यक्ष नुनमाया थापामगरले बताउनुभयो । गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्याउनका लागि लेकबेँसी सामाजिक महिला उद्यमी सहकारीले विगत १ दशकदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ ।
सुरु सुरुमा व्यापारीलाई खोजी खोजी बोलाउन पर्ने वा खबर गर्नुपर्ने भए पनि अहिले भने व्यापारी सहकारीमा आफैँ खसीबोका खोज्दै आउने गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताउनुभयो । यस पटकको दसैँमा एक हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेको यो सहकारीले मङ्गलबारसम्म आठ सयभन्दा बढी खसीबोका बिक्री गरिसकेको जनाएको छ ।
Leave A Comment