Latest
img

शिक्षा बिकास निर्देशनालयको असल अभ्यास प्रस्तुतीकरण कार्यक्रम नवलपुरमा सुरु

देवचुली – शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको पिप्रहरमा असल अभ्यास प्रस्तुतीकरण र एसइइ परीक्षा सम्बन्धी सुझाव संकलन कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको अध्यक्षता शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता गण्डकी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री महेन्द्रध्वज जिसीले गर्नुभएको थियो। उद्घाटन सत्रमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख तोयानाथ लम्साल, आँबुखैरेनी गाउँपालिका तनहुँका शिक्षा अधिकृत निर्मला कुँवर, नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी लगायतले शुभकामना मन्तव्य राख्दै असल अभ्यास प्रस्तुतिकरणको दुई दिने कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको पहिलो दिनको पहिलो सत्रमा आयोजक संस्थाका अध्यक्षता गर्नुभएका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले गण्डकी प्रदेशका विद्यालयहरूमा भएका असल अभ्यासको प्रस्तुतिकरण गर्नुभएको थियो। सो अवसरमा उहाँले गण्डकी प्रदेशका नवलपुर लगायत विभिन्न जिल्लाहरूमा रहेका सामुदायिक विद्यालयहरूले अनुकरणीय र प्रभावकारी काम गरेको बताउनुभयो । उहाँले पछिल्लो समय विद्यालयहरुले शिक्षालाई सिप, संस्कार र प्रविधिसँग जोड्दै लगेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो। कार्यक्रमको दोस्रो सत्रमा गण्डकी प्रदेशका आठसहित लुम्बिनी प्रदेशको दुई र कर्णाली प्रदेशको एक विद्यालयको तर्फबाट समेत विद्यालयमा लागू भएका असल अभ्यासका प्रस्तुतिकरण गरिएको थियो।

गण्डकी प्रदेशका बेनी सामुदायिक माध्यमिक विद्यालय म्याग्दी, मिर्मी आधारभूत विद्यालय स्याङ्जा, भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय नवलपुर, जनक नमुना माध्यमिक विद्यालय नवलपुर, सत्यवती माध्यमिक विद्यालय तनहुँ, ध्रुवज्योति माध्यमिक विद्यालय स्याङ्जा र मदरल्याण्ड माध्यमिक विद्यालय कास्कीको असल अभ्यासको प्रस्तुतिकरण गरिएको थियो। साथै लुम्बिनी प्रदेशको सिद्धबाबा माध्यमिक विद्यालय गुल्मी, कालिका मानव ज्ञान माध्यमिक विद्यालय बुटवल र कर्णाली प्रदेशको जनज्योति माध्यमिक विद्यालय सुर्खेतको प्रस्तुतिकरण समेत गरिएको थियो। कार्यक्रममा असल अभ्यासको चर्चा गर्ने क्रममा विभिन्न विद्यालयबाट प्रस्तुतिकरणका लागिआउनुभएका प्रधानाध्यापकहरूले विद्यालयले रिडर्स क्लबको आयोजना गरी पठन संस्कृतिको विकास गरेको, प्रतिस्पर्धामा गएका विद्यार्थीहरू अबीर नलगाई नफर्कने वातावरणको सिर्जना गरेको, विद्यार्थीहरूको वाक क्षमतालाई वृद्धि गर्न रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेको, विद्यालयमा फरक समयमा फरक पोशाकको व्यवस्था गरेको, व्यवहारिक सीप, संस्कार र घरायसी कामकाजमा विद्यार्थीहरूलाई प्रोत्साहन गरेको लगायतका विषयहरु माथि चर्चा गर्नुभएको थियो।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, पालिकाका शिक्षा शाखा प्रमुख, शिक्षा विकास निर्देशनालय अन्तर्गतका विभिन्न निकायका प्रमुख, परीक्षा केन्द्र प्रमुखहरू, शिक्षा विज्ञहरू र विभिन्न विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको दोस्रो दिन शनिबार माध्यमिक शिक्षा परीक्षा (एसइइ) सम्बन्धी सुझाव संकलनको कार्यक्रम रहनेछ। जसमा हरेक जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरूको प्रस्तुति रहनेछ भने नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाको शिक्षामा गरेका लगानी र असल अभ्यासहरूको प्रस्तुतिकरण समेत रहनेछ। साथै दोस्रो दिनको बिहानी सत्रमा योग तथा ध्यानको कक्षा समेत सञ्चालन हुनेछ।

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले विगत तीन वर्षदेखि सुरु गरेको असल अभ्यास प्रस्तुतिकरण र एसइइ परीक्षा सम्बन्धी सुझाव संकलन कार्यक्रम तेस्रो वर्षमा नवलपुरमा आयोजना गरेको हो । यस अघिका दुई वर्ष कार्यक्रमको आयोजना कास्की जिल्लामा गरिएको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका प्रसाद आचार्यले बताउनुभयो।

Related Post

Leave A Comment