Latest
img

आठौं नवलपुर महोत्सव सुरु

खगेन्द्र पराजुली- आठौं नवलपुर महोत्सव आज शुक्रबारदेखि डण्डामा सुरु भएको छ । फागुन १० गतेसम्म चल्ने महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले नवलपुर महोत्सवले यहाँको समग्र उत्पादनलाई बजारीकरण गर्न, प्रचार–प्रसार र प्रबद्धन नमार्फत अर्थतन्त्रमा प्रभाव पार्न सक्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशकै सम्भावनाको अवसर पर्खिरहेको नवलपुर जिल्लाले राजस्व सहितको अर्थतन्त्रमा पुर्याएको योगदानको प्रसंसा गरेका मन्त्री भण्डारीले महोत्सवमा राखिने साना घरेलु उद्योग र उद्यमशिलता गर्न नसक्ने हो भने देशको अर्थतन्त्र उठ्न नसक्ने जिकिर गर्नुभयो।

उद्योगी ब्यवसायीको हितमा सरकारले अध्यादेश ल्याउन लागेको बताएका मन्त्री भण्डारीले अर्थतन्त्रमा परेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै सरकारले केन्द्रमा राखेर गतिविधिहरु अगाडि बढाएको स्पष्ट पार्नुभयो । महोत्सव उद्घाटन पूर्व विभिन्न जातजातिका मौलिकता झल्कने साँस्कृतिक झाँकी, संघसंस्था, समूह, उद्योगी–ब्यापारीहरुको सहभागितामा बृहत शोभायात्रा निकालिएको थियो ।

महोत्सव आयोजक नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासचिव सागर पोख्रेलले महोत्सवको अवधारणा, उदेश्य, अपेक्षाका बारेमा जानकारी दिनुभएको थियो भने अध्यक्ष अर्यालले नवलपुरको पर्यटन उद्योग ब्यापार ब्यवसायको अपेक्षित उपलब्धि प्राप्तिमा बाधक मानिएका समस्याहरु चुनौताीका रुपमा देखा परेको बक्तब्य मार्फत ध्यानाकर्षण गराउनुभयो । आठौं नवलपुर महोत्सवमा प्रवद्र्धनतर्फ कृषि उत्पादन प्रदर्शनी तथा विक्री, हस्तकला तथा घरेलु औजार विक्री एवम् प्रदर्शनी, विभिन्न जातजातिका कला, संस्कृति, भेषभूषा, मौलिक बाजागाजा सहितका प्रस्तुति–प्रदर्शनी, रत्यौली, लोकदोहोरी, डान्स आइडल प्रतियोगिता र राष्ट्रिय कलाकारका साथमा स्थानीय कलाकारका सांगितिक–साँस्कृतिक प्रस्तुति समेटिएका छन् भने कृषकका उत्पादन र विद्यार्थीबीचको वृत्तचित्र प्रतियोगिता रहने आयोजकले जनाएको छ । यस्तै, मनोरञ्जनतर्फ बाल उद्यान, अवलोकनका लागि फिस टनेल, आइफिल टावर र पुरा महोत्सव स्थल आकर्षक बनाइएको छ ।

यसपटकको महोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क आधारभूत औषधि सहितको स्वास्थ्य परिक्षण शिविर, निशुल्क आँखा परिक्षण शिविर, ज्येष्ठ तथा अपाङ्गता नागरिकका लागि प्रवेश निशुल्क रहेको छ । महोत्सवमा धार्मिक, आध्यात्मिक साँस्कृतिक–सामरिक पक्षका ज्ञान, उर्जा–ध्यान, पर्यटकीय गन्तब्य, उद्यमी, कृषि, बहुउदेशीय सहकारी र वित्तीय संस्थाका जागरण–सूचना केन्द्र छन् । यहाँ दैनिक उपभोग्य बस्तु र आवश्यकताका औधोगिक उत्पादनका ब्यापारिक स्टलहरु रहेका छन् । सबै बर्ग, उमेर समुह, फरक फरक सोच र रुचीका मानिसहरुलाई महोत्सवबाट सन्तुष्ट पार्ने परिकल्पनाका साथ आयोजित आठौं नवलपुर महोत्सव विशेष हुने आयोजकको दाबी छ ।

 

Related Post

Leave A Comment