Latest
img

मध्यबिन्दु अस्पताल अब एक सय शय्यामा विस्तार

नवलपरासी — कावासोतीको डन्डामा रहेको १५ शय्याको मध्यबिन्दु जिल्ला अस्पताललाई स्तरोन्नति गरेर एक सय शय्याको प्रादेशिक अस्पताल बनाइएको छ । गण्डकी प्रदेश सरकारको गत जेठ १२ गतेको बैठकले मध्यबिन्दु जिल्ला अस्पताललाई अब एक सय शय्यामा विस्तार गरी सेवा सुचारु गर्ने निर्णय गरेको हो।

अस्पतालले नवनिर्मित भवनबाट प्रादेशिक अस्पतालको सेवा सुरु गरेको छ। अस्पतालका प्रमुख डा. रमेश आचार्यका अनुसार एक सय बेडको अस्पताल संचालनका लागि पहिलो चरणमा आवश्यक पर्ने २२ जना विशेषज्ञ चिकित्सक र १५ जना मेडिकल अधिकृतको दरबन्दी प्रदेश सरकारले स्वीकृत गरेको छ ।

अन्य अप्राविधिक जनशक्ति तत्कालकालागि अस्पताल व्यवस्थापनले राख्ने छ । यो अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न कम्तीमा २ सय ५० जना स्वास्थ्यकर्मीको आवश्यकता पर्दछ । यहाँ दुई वर्ष अघिदेखि सञ्चालनमा रहेको डाइलाइसिस सेवासमेत दक्ष स्वास्थ्यकर्मी र उपकरणको अभावमा हाल दुई सिफ्टमात्र सेवा सञ्चालनमा छ ।

मिर्गौला रोगीहरूको उपचारमा सघाउ हुने डाइलाइसिस सेवा सञ्चालन हुँदा निस्कने फोहरपानी फाल्ने नालाको व्यवस्था (ड्रेन) नहुँदा लामखुट्टे जन्य सरुवा रोगको बिगबिगी रहेको डा. आचार्यले दुखेसो पोखे । ‘जिल्लामै सबैभन्दा धेरै लामखुट्टे बासस्थान रहेको यही अस्पताल हो,’ आचार्यले भने, ‘अस्पतालमै लामखुट्टेको बिगबिगी छ । फोहोर पानी फाल्ने नालाको व्यवस्था नभएका कारण यो समस्या बढ्दो छ।’

यो नै पूर्वी नवलपरासीको सबैभन्दा ठुलो अस्पताल हो । १४ वर्ष अघि धान्यांचल गरेर स्थानीय चन्दादाताको सहयोगबाट सुरु गरिएको मध्यबिन्दु स्मृति अस्पताललाई जिल्ला अस्पताल हुँदै एक सय बेड क्षमताको प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको हो ।

यहाँ दैनिक ५ सयको हाराहारीमा बिरामी आउने गर्छन् । अस्पतालमा भरपर्दो बिद्युत् सेवा नभएका कारण अप्रेसन लगायतका काम सुरु गर्न नसकिएको आचार्यले बताए। बिद्युत् प्राधिकरण कावासोतीका प्रमुखसँग बोलचाल समेत बन्द भएको सुनाउँदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट आचार्यले अस्पतालमा बिद्युत् नजाने लाइन मिलाइदिन हजार पल्ट बिद्युत् कार्यालयमा पत्राचार गर्दा समेत सुनुवाइ नभएको बताए।

अस्पताल संचालनका लागि कम्तीमा ५ सय केभिको जेनरेटर आवश्यक पर्ने र त्यो व्यवस्था गर्न नसकेका कारण पर्याप्त जनशक्ति हुँदाहुँदै पनि अप्रेसन सेवा सुरु गर्न नसकेको आचार्यले जानकारी दिए ।

जर्मनको हिल्फे नेपालको सहयोगमा नयाँ निर्माण गरिएको भवनमा एक महिना अघिदेखि अस्पताल सारेर सेवा सुरु भएको छ । अस्पतालमा चाँडै नै ट्रमा युनिटको सेवा विस्तार गर्ने लक्ष्य लिइएको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताए।

पूर्वी नवलपरासीमा सरकारी र निजी क्षेत्रका गरेर ४ दर्जन बढी अस्पतालहरू रहेका छन् । विशेषज्ञ चिकित्सक र अन्य उपकरणको अभावमा ती कुनै पनि अस्पतालमा आइसीयु सेवा र ठुला शल्यक्रिया सेवा उपलब्ध छैन। यहाँ सामान्य शल्यकृयाकालागि पनि चितवन पठाउने गरिन्छ । जिल्लामा सघन उपचारमा आवश्यक पर्ने, एमआरआई, सिटिस्क्यान र भरपर्दो ल्याब समेत छैन ।

पूर्वी नवलपरासीमा रहेका निजी लगानीका अस्पतालले विशेषज्ञ र भरपर्दो चिकित्सकीय सेवा दिन सकेका छैनन् ।

पूर्वी नवलपरासीको फारममा सरकारले २५ करोडको लागतमा ट्रमा सेन्टर निर्माणको काम सुरु गरेको छ । ३ हेक्टर जग्गामा निर्माण सुरु हुने भनिएको ट्रमा सेन्टरको टेन्डर अघिल्लो महिना निकालेर ठेक्का सम्झौता गरिएको छ । सहरी विकास तथा भवन विकास विभागका अनुसार आगामी २ वर्ष भित्र भवन निर्माणको काम सम्पन्न हुने छ । करिब ४ लाख जनसंख्या भएको पूर्वी नवलपरासीमा जटिल खालका सुत्केरी बेथा लागेकाहरूको समेत अप्रेसन हुँदैन । पर्याप्त दक्ष जनशक्ति र उपकरणको अभावमा अप्रेसन हुन नसकेको हो।

Related Post

Leave A Comment