Latest
img

ध्वाँसे चितुवा संरक्षणमा जोड

पाेखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ ।

प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन् । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरी संरक्षणमा जोड दिइरहेको बताउनुभयो ।

गाउँपालिकाको विसं २०७५ कात्तिकमा बसेको कार्यपालिका बैठकले ध्वाँसे चितुवालाई गाउँपालिकाको स्थानीय जनावर घोषणा गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा जनचेतना जगाउँदै प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम आयोजना गर्न गाउँपालिका कार्यालयलाई आग्रह गरिने उहाँले बताउनुभयो ।

प्रकृतिका साथीहरु संस्थाका प्रमुख राजु आचार्यले उक्त गाउँपालिकाभित्र ध्वाँसे चितुवाको अध्ययन विभिन्न कोणबाट भइरहेको जानकारी दिनुभयो । संस्थाले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरण तथा राहतस्वरुप अक्षयकोष स्थापना गर्न नगद सहयोग गरेको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसलाई रु दुई लाख प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । अक्षयकोषबाट प्राप्त ब्याजले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि राहत प्रदान गरिने भएको छ ।

तल्लो अन्नपूर्ण क्षेत्रको एक हजार चार सयदेखि तीन हजार पाँच सय मिटर उचाइमा पाइने ३० प्रजातिमध्ये यो विश्वव्यापीरूपमा संवेदनशील सूचीमा छ । आइयुसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको छ । सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ ।

कार्यक्रममा मादी–१ सिक्लेसका उमरबहादुर गुरुङ सन्तोषलाई ध्वाँसे चितुवा संरक्षणदूतका रुपमा संस्थामार्फत प्रमाणपत्र प्रदान गरिएको थियो । (रासस)

 

Related Post

Leave A Comment