Latest
img

दश हजार दर्शकद्वारा मेलाको अवलोकन

नवलपुरको गैँडाकोटमा आइतबारदेखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को मंगलबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीकाअनुसार मंगलकार होली पर्व परेकाले दर्शकहरुको राम्रो उपस्थिति रहेको थियो ।
मंगलबार मेलाको सांस्कृतिक कार्यक्रमलाई होली धमाका नाम दिएर चर्चित कलाकारको प्रस्तुती रहेका कारण पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति रहेको अधिकारीको भनाइ छ । बुधबार पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति हुने आयोजकले अनुमान गरेको छ । औद्योगिक व्यापार मेला जिल्लाको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा चैत १ गतेसम्म सञ्चालन हुनेछ । मेलाको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनले मेलामा हस्तकला, कृषि, पुष्प, अटो, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टल रहेको जानकारी दिए ।
प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण नवलपुरमा प्रदेशस्तरीय औद्योगिक मेला राखिएको उनको भनाइ छ । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । एक लाखले अवलोकन गर्ने अनुमान गरिएको मेलाको प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको छ ।
प्रितीलाई दर्शकको साथ
प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा मंगलबार चर्चित गायिका प्रिती आलेले दर्शको साथ पाएकी छिन् । मंगलबार होलीसमेत परेका कारण आलेलाई साथ दिने दर्शकहरु नदीकिनारमा अत्यधिक सहभागी थिए । प्रितीले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई करिब दुई घण्टा मनोरञ्जन दिएकी थिइन् । मञ्चमा चढेपछि गीत गाउन सुरु गरेकी आलेले आफ्ना चर्चित लोक तथा दोहोरी गीतसँगै दोहोरी ब्याटल पनि गाएकी थिइन् । साथै उनले प्रत्यक्ष दोहोरी गीत गाएर समेत दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार मंगलबार मेलाको सांस्कृतिक कार्यक्रममा आलेसहित उर्गेन दोङ, रोशन राना, प्रतिमा गैरे तथा अन्य स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । प्रिती र रोशनले प्रत्यक्ष दोहोरी गाएर मेलामा दर्शकलाई रमाइलो गराएका थिए ।
भोलि राजु परियारले आउने
प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत भोलि बुधबार चर्चित गायक राजु परियारको सांगीतिक प्रस्तुती रहने बताइएको छ । मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक परियारसँगै पूर्णकला विसी र वसन्त लम्सालको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । बुधबारको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लम्सालको भनाइ छ ।

Related Post

Leave A Comment