Latest
img

बुटवल–नारायणगढ सडक : चार वर्षमा २७ प्रतिशत मात्रै प्रगति

गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको बुटवल–नारायणगढ सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तारको कामका लागि भएको सम्झौताको म्याद सात महिनाअगाडि नै सकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । थपिएको समय सकिन अब पाँच महिना पनि बाँकी छैन, तर कामले अझै गति लिएको छैन ।

थपिएको समयमा काम सम्पन्न गर्न कामको गति प्रतिमहिना १० प्रतिशतमा पुर्‍याउनुपर्छ । तर, अहिले कामको गति महिनामा २ प्रतिशत सम्पन्न गर्ने गरी भइरहेको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीपराज शाक्यका अनुसार थपिएको म्याद साउन २२ सम्म रहेको छ ।

विस्तारको कामका क्रममा हाल कालोपत्रे भइरहेको उनले बताए । यो सडक आयोजनालाई बुटवल–बर्दघाट र बर्दघाट–नारायणगढ गरी दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । त्यसमध्ये बुटवल–बर्दघाट खण्डमा २५.७५ प्रतिशत र बर्दघाट–नारायणढ खण्डमा २७.५० प्रतिशत काम सकिएको छ । समग्रमा २७ प्रतिशत काम सम्पन्न भएको शाक्यले बताए ।

यो सडक आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत ०७५ मा विस्तारको शिलान्यास गरेका थिए । सुुरु भएको ४४ महिनामा काम सक्ने भन्दै ओलीले बुटवलबाट शिलान्यास गरेको सडकको म्याद नाघिसक्दा पनि कहिले बनिसक्ने भन्ने टुंगो लागेको छैन ।

नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कुल एक सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ ।

यो सडकको ४२.७ किलोमिटर खण्ड चार लेनमा तथा सहरी क्षेत्रको करिब १७.६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६–६ मिटरको सर्भिस लेनसमेत निर्माण हुने गरी सम्झौता भएको छ ।

त्यस्तै, दाउन्नेको ४.१ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार गर्ने भनिएको थियो । जटिल भौगोलिक अवस्थाका कारण दाउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

१६ अर्ब रुपैयाँ कुल लागतमध्ये एडिबीले ८५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी रकम सरकारले व्यहोर्ने गरी निर्माण अघि बढाइएको छ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

नारायणगढ–दाउन्ने ६५ र दाउन्ने–बुटवल ५० किमिका दुई खण्ड छन् । विस्तारको काम नथाल्दै बुटवलबाट नारायणगढसम्म पुग्न करिब तीन घन्टा लाग्ने यो सडक विस्तार सम्पन्न भएपछि समय कम लाग्ने आयोजनाको दाबी छ । तर, अहिले विस्तारको काम भइरहेकाले यो सडकखण्डको यात्रा कष्टकर छ ।

Related Post

Leave A Comment