Latest
img

बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

नवलपुर- बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का ढकालले मध्य तराईको ग्रामीण परिवेशलाई समेटेर उपन्यास सार्वजनिक गर्नुभएको हो ।
नेपाली साहित्यको क्षेत्रमा पहाडबाट तराई बसाइँ सर्नेसहित आदिवासी समुदायको कठा लिएर साहित्यमा प्रवेश गर्नुभएको लेखक ढकाल लामो समयदेखि ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ । यस उपन्यासमा छोटा र सरल वाकयहरु रहेका भन्दै लेखक ढकालले पाठकलाई पढ्न र बुझ्न सहज हुने बताउनुभयो । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल भएको भन्दै ढकालले जौवाको अर्थ विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे भएको उल्लेख गर्नुभयो ।

आञ्चलिकतामा आधारित रहेर लेखिएको उपन्यास भएकाले यस पुस्तक पढ्ने व्यक्तिले मध्य तराईको वस्तुस्थितिबारे बुझ्नसक्ने ढकालको भनाइ छ । ग्रामीण परिवेशमा बाल्यकालमा गरिने बाल्यक्रिडा, पौडी खेल्दाको अनुभव, पहिलो पटक टेलिफोन गर्दाको अनुभूतिहरु उपन्यासमा समावेश भएका छन् । उपन्यासको मुख्य कथा विद्यालयमा पढ्दै गरेकी एउटी किशोरीको भए पनि त्यहाँ अन्य परिवेश पनि समावेश भएका छन् ।

समाजमा घट्ने घटनाहरुमध्येको किशोरीलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको र त्यस घटनापछि किशोरी आत्महत्या गर्न विवश भएको कथावस्तुलाई प्रमुखताका साथ जौवामा समेटिएको छ । “तराईका विषयवस्तुमा अन्य कृतिहरु पनि लेखिएका छन्” लेखक ढकालले भन्नुभयो, “यद्यपि यहाँ पहाडबाट तराईमा बसाइँ सरेर आउने र आदिवासी समुदायसहित सबैको कथावस्तु समेटिएकाले अन्य कृतिहरुको भन्दा जौवामा फरक परिवेश पाइन्छ ।” लेखक ढकालले जौवाभित्र विभिन्न ४८ वटा उपकथाहरु समावेश भएका जानकारी दिनुभयो ।

शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको जौवा उपन्यासको विमोचन केही दिन अगाडि काठमाडौँमा गरिएको उल्लेख गर्दै लेखक ढकालले चाँडै नै गृह विमोचनको तयारीमा रहेको जानकारी दिनुभयो । उपन्यासमा समावेश गरिएका स्थानीय बोलीचालीको भाषाको शब्दार्थसहित राखिएको जौवाको मूल्य रु.५२५ रहेको छ ।

Related Post

Leave A Comment