Latest
img

कावासोतीमा र्‍याली सहित वित्तीय साक्षरता राष्ट्रिय अभियान

प्रेम क्षेत्री
कावासोती- नवलपुर क्षेत्र नम्बर २ का संघीय सांसद विष्णुकुमार कार्कीले महिला दिदिबहिनीहरुलाई विभिन्न बैंकहरुले ५ प्रतिशत ब्याजदरमा गर्ने गरेको कर्जा लगानी लघुवित्तमाफर्त गरिनुपर्ने बताउनुभएको छ । नवलपुरमा कार्यरत २७ वटा लघुवित्त संस्थाको सहकार्यमा नेपाल लघुवित्त बैंकर्स संघले कावासोतीमा शनिबार आयोजना गरेको वित्तीय साक्षरता राष्ट्रिय अभियानमा सांसद कार्कीले सो विषय संसदमा आवाज उठाउने समेत बाचा गर्नुभयो । उहाँले लघुवित्तका ऋणी सदस्यलाई किस्ता तिर्न नसकेपनि ब्याजमात्र भए पनि तिर्न आग्रह गर्नुभयो । तर यो पैसा तिर्दिन भनेर हावादारी मान्छेको पछाडी नलाग्न र त्यस्ले आफैलाई अफ्ठ्यारो पार्ने कुरामा सचेत गराउनुभयो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले वित्तीय संस्थाविरुद्धका आन्दोलन तथा अराजक गतिविधि टुलुटुल हेरेर बस्न नसक्ने बताउनुभएको छ । बैंक र वित्तीय संस्थाका कर्मचारीको सुरक्षाका लागि नेपाल सरकारबाट भएको आदेश अनुरुप सुरक्षा प्रदान गर्ने उहाँले बताउनुभयो । यद्यपी लघुवित्तका क्षेत्रमा समस्या भए समाधान गर्न लघुवित्तकर्मीहरुको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले महिलाले उत्पादन गरेका सामग्रीको बिक्रिका लागि बजार व्यवस्थापनका लागि सरकारले नीति बनाएर सहयोग गर्ने हो भने धेरै समस्या हल हुने तर्क गर्नुभयो । महिलाको जीवनस्तर सुधार गर्न लघुवित्त संस्था सहयोगी बनिरहेको उहाँले बताउनुभयो । सँधै लघुवित्तले मात्रै समस्याको समाधान नगर्ने बताउँदै उहाँले सरकारले तालिम, नीति, पूर्वाधार, बजार व्यवस्थापन र उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले सदस्यले वित्तीय व्यवस्थापन गर्न नजान्दाको परिणाम अहिले देखा परेको जनाउँदै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । सदस्यले धेरै संस्थाबाट ऋण लिएको तर व्यवसाय नचल्दा ऋण भारी बनेको उहाँले बताउनुभयो । लिएको पैसा सदुपयोग गर्न नजान्दा त्यसमाथी कोभिड, वर्तमान आर्थिक मन्दि पनि कारक बनेको उहाँको भनाई थियो । लघुवित्तले बढी ब्याज लिएमा एवं नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँको आग्रह थियो ।

नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले ग्रामिण क्षेत्रमा दिदिबहिनीहरुलाई व्यवसायीकरण र सशक्तिकरण गर्न लघुवित्तको ठूलो भूमिका रहेको बताउनुभयो । नेपाल लघुवित्त बैंकर्स संघका सदस्य प्रविणकुमार लामाले लघुवित्त बिना ग्रामिण क्षेत्रमा आर्थिक कारोबार ठप्प हुने बताउँदै समुदायमा भएको भ्रम हटाउन जरुरी रहेको बताउनुभयो । विजय लघुवित्त वित्तीय संस्थाका सञ्चालक खेमराज सापकोटाले वित्तीय कारोबार हरेक नागरिकका लागि आवश्यक भएको तर त्यस्को व्यवस्थापन महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो ।

सदस्यहरुका तर्फबाट बोल्दै सीता भुसालले वित्तीय संस्थाकै कारण सदस्यले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्दै सबैलाई सचेत गराउनुभयो । अर्का सदस्य टीका कुमारी न्यौपानेले महिला उद्योगी भएको भए त्यस्को श्रेय लघुवित्तलाई जाने बताउनुभयो । अर्का सदस्य टीका कासी गुरुङले सकेसम्म भएको ब्याजदर अझै कम गरी महिलालाई माथी उकास्न आग्रह गर्नभयो । लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं कार्यक्रम संयोजक युवराज गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम सन्ध्या सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

यसअघि कावासोतीको फलफुलचोकबाट राजमार्ग हुँदै पानस रिसोर्टसम्म भएको सचेतना ¥यालीका सहभागीले लघुवित्त आÇनो सहारा भएको बताउँदै नारा लगाएका थिए । जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत २७ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले वित्तीय साक्षरता सम्बन्धी प्लेकार्ड बोकेका थिए । गाउँगाउँबाट आएका लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तिय अराजकता बन्द गर’, ‘प्रतिस्पद्र्धामा ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन्’, ‘लिएको कर्जाको सहि सदुपयोग गरौँ’ ‘उद्यमी बन्न बढाऔँ हाम्रो हात, लघुवित्त वित्तीय संस्थाले दिईरहनेछन् हाम्रो साथ’, जबसम्म लघुवित्त वित्तीय संस्था रहन्छ, हाम्रो व्यवसाय चलिरहन्छ’ लगायतका प्लेकार्ड बोकेका थिए । लघुवित्त संस्थाहरुसँग आवद्ध सदस्यहरुका लागि नेपाल लघुवित्त बैंकर्स संघले चितवन, नवलपुर, गोरखा लगायत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता राष्ट्रिय अभियान सञ्चालन गरिसकेको छ ।

Related Post

Leave A Comment