Latest
img

आज जिब्रो छेड्ने जात्रा मनाइँदै

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै छ ।

जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष स्थानीय २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्दै छन्।

सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्।

थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले जारी गरेको जात्रा तालिका अनुसार जिब्रो छेडाउने जात्रा दिउँसो १२ बजे सुरु हुनेछ। भक्तपुरको विस्का जात्रा अन्तर्गतको मध्यपुर थिमीको यो जात्रा सबैभन्दा बढी प्रख्यात छ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ। एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ। विशेष पहिरन र खुटटामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ।

जिब्रो छेडिसकेपछि नगर परिक्रमा गर्ने प्रचलन छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ ।हालसम्म १२ जनाबाट निरन्तर १०८ वर्ष जिब्रो छेडेका छन् ।

अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७८ सालसम्म नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।

यसैबीच मध्यपुर थिमी क्षेत्रमै शनिबार सिन्दुर जात्रा मनाइँदैछ। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्छन्।  Radio Nepal

Related Post

Leave A Comment