Latest
img

मध्यविन्दुमा कृषि उपज संकलन केन्द्र सञ्चालन भएपछि कृषकहरु लाभान्वित

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१ पतवारीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै कृषकहरु लाभान्वित भएका छन् । गाउँमा नै कृषि उपज संकलन केन्द्र स्थापना भएपछि स्थानीय कृषकहरुलाई कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज भएको हो । विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएका स्थानीय रङ्गमायाँ महतोले बर्षैँदेखि बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भनदै खुसी व्यक्त गरे।

“पहिले हामीले उत्पादन गरेका तरकारीले भाउ पाउनै गाह्रो थियो, घाटा भए पनि व्यापारीलाई दिनु पर्ने अवस्था थियो”, कृषक महतोले भने, “अहिले नगरपालिकाले निःशुल्क संकलन केन्द्रसम्म ढुवानी गरिदिन्छ अनि बजार मूल्यअनुसार बिक्री गर्न पाएका छौँ ।” सुरुआती चरणमा मध्यविन्दु नगरपालिका–१ का करिब १० वटा कृषि समूहबाट सञ्चालन गरिएको यस केन्द्रको अहिले सेवा विस्तार भएको छ । हिजोआज यस केन्द्रमा नगरपालिकाका विभिन्न वडाहरुसँगै छिमेकी स्थानीय तहहरुका कृषकहरुले समेत लाभ लिइरहेको संकलन केन्द्रका व्यवस्थापक शान्ति गुरौले बताए ।

उत्पादित नगदेबाली, बेमौसमी तरकारी खेती, अन्नबाली लगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ सङ्कलन केन्द्र सञ्चालन गरिएको मध्यविन्दु नगरपालिका–१ का वडाअध्यक्ष तिलकराम न्यौपानेले बताए। “तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, युएनडिपी, मध्यविन्दु नगरपालिका लगायतको करिब ५० लाखको लगानीमा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको हो”, उनले भने।

विगत ३ वर्ष अगाडि स्थापना भएको भवन विभिन्न कारणले सञ्चालन हुन नसकेको अवस्थामा अहिले भने यहाँबाट किसानले सेवा लिन थालेका छन् । बजारीकरणको समस्यासँगै उचित मूल्य नपाएका किसानहरुलाई अब यस केन्द्रबाट सेवा विस्तार भएसँगै कतैबाट किसान ठगिन नपर्ने सङ्कलन केन्द्रका अध्यक्ष हिमबहादुर केसीले बताउनुभयो । कृषकहरुलाई सहजतासँगै प्रोसाहनस्वरुप कृषहरुको घरदेखि सङ्कलन केन्द्रसम्म निःशुल्क ढुवानी सेवासमेत नगरपालिकाले प्रदान गरेको छ । जसले गर्दा कृषकहरुलाई अझ सहजता भएको कृषक डोरबहादुर महतोले बताउनुभयो ।

तरकारी उत्पादन भए पनि विगतमा बजार नपाउँदा तरकारी खेतमा कुहिने गरेको बजार व्यवस्थापन समितिका संयोजक आन्नदराम भुसालले बताउनुभयो । “तरकारी सङ्कलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए”, भुसालले भन्नुभयो, “सङ्कलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी स्थानीय बजारदेखि नारायणघाट हँुदै काठमाडाँै, पोखरासम्म पुग्न थालेको छ ।”

जिल्लाको पतवारी, कोल्हुवा, नारायणी क्षेत्र तरकारी र फलफूल उत्पादनको हिसाबले उर्वरभूमि मानिन्छ । भूमिगत सिँचाइको सुविधा भएको यस क्षेत्रका अधिकांश कृषकहरु तरकारी खेतीमा आबद्ध रहेका छन् । यस क्षेत्रको अभिवन, गुडचरी, पतवारी, लेढा र ब्रह्मस्थान लगायतका ठाउँमा तरकारी र फलफूल प्रशस्तै उत्पादन हुने गर्छ ।

Related Post

Leave A Comment