Latest
img

गैँडाकोटमा साढे २६ प्रतिशत विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिँदै

श्रीधर उपाध्याय

गैँडाकोट । गैँडाकोटमा शैक्षिक सत्र २०८० सुरु भइसकेको छ । गत शैक्षिक सत्रमा आधारभूत तह कक्षा ८ को नतिजा सामुदायिक विद्यालयको हकमा सन्तोषजनक देखिदैन । गैँडाकोट नगरपालिकाको शिक्षा शाखाका अनुसार नतिजाले सामुदायिक विद्यालयहरुलाई सुध्रन सन्देश दिएको छ । कक्षा ८ को वार्षिक परीक्षामा गैँडाकोटमा १४ सय विद्यार्थीले सहभागि भएका थिए । अहिले परिक्षाफल प्रकाशन भइसकेको छ । प्रकाशित नतिजाका अनुसार ८ सय ६९ विद्यार्थी कक्षा ९ अध्ययनका लागि योग्य ठहरिएका छन् । परीक्षामा १६० जना विद्यार्थी कक्षा ९ अध्ययनका लागि अयोग्य बनेका छन् । ग्रेड बृद्धि परीक्षा अघि गैँडाकोटमा ५३१ (करिब ३८ प्रतिशत) विद्यार्थी योग्यको सूचिमा परेनन् । ३ वटा विषयसम्म अयोग्य भएका विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन् । ३ सय ७१ विद्यार्थी (साढे २६ प्रतिशत) ले बैशाख १५ गतेबाट सुरु हुने ग्रेड बृद्धि परीक्षा दिने गैँडाकोट नगरपालिकाका शिक्षा शाखाप्रमुख डा. बालकृष्ण चापागाईंले बताए ।

सामुदायिकमा ५४ दशमलब ११ प्र्रतिशत विद्यार्थी योग्य

गैँडाकोटमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक देखिदैन । सामुदायिक विद्यालयतर्फ अहिले कुनै पनि विद्यालयले कक्षा ९ अध्ययनका लागि शतप्रतिशत विद्यार्थी योग्य बनाउन सकेका छैनन् । ग्रेड बृद्धि परीक्षामा सहभागि हुने विद्यार्थीहरुले शतप्रतिशत नतिजा निकालेको खण्डमा पञ्चज्योती आधारभूत विद्यालय, विजयज्योती आधारभूत विद्यालय, अमरज्योती विद्यालय र बालज्योती माध्यामिक विद्यालयको नतिजा शतप्रतिशत आउने छ । सामुदायिक विद्यालय तर्फ २ वटा विद्यालयको नतिजा शून्य रहेको छ । गैँडाकोट २ मा रहेको महेन्द्र स्मारक र गँैडाकोट १४ मा रहेको शंखदेवी आधारभूत विद्यालयको नतिजा शून्य रहेको छ । महेन्द्र स्मारकका ९ जना विद्यार्थी मध्ये ५ जना कक्षा ९ अध्ययनका लागि अयोग्य भएका छन् । ४ विद्यार्थीले ग्रेडबृद्धि परीक्षामा सहभागि हुने अवसर पाएका छन् ।

यसैगरी शंखदेवी आधारभूत विद्यालयका १५ विद्यार्थीमध्ये १ जना कक्षा ९ अध्ययनका लागि अयोग्य र बाँकी १४ जनाले ग्रेड बृद्धि परिक्षामा सहभागि हुने अवसर पाएका छन् । ग्रेड बृद्धि परीक्षामा सहभागि विद्यार्थीले सफलता प्राप्त गरे दुबै विद्यालयको नतिजा शुन्य हुनबाट जोगिनेछ ।
पहिलो चरणको नतिजा नियाल्दा ३० प्रतिशत विद्यार्थी पनि योग्य नभएका विद्यालय छन् । नेपाल राष्ट्रिय शमसेर आदर्श मा.वि, दुर्गा आधारभूत विद्यालय र मुकुन्दसेन आधारभूत विद्यालयको नतिजा कमजोर देखिन्छ । नेराशबाट परीक्षामा सहभागि ६३ विद्यार्थी मध्ये १६ विद्यार्थी, दुर्गा आधारभूत विद्यालयबाट परीक्षामा सहभागि १७ जनामा ३ विद्यार्थी र मुकुन्दसेन आधारभूत विद्यालयबाट परीक्षामा सहभागि ३० विद्यार्थीमा ३ विद्यार्थी मात्र कक्षा ९ अध्ययनका लागि योग्य ठहरिएका छन् । नेराशबाट २४ जना, दुर्गाबाट ६ जना र मुकुन्दसेन आधारभूतबाट २२ जना विद्यार्थी ग्रेडबृद्धि परीक्षामा सहभागि हुँदै छन् ।

गैँडाकोटमा सामुदायिक विद्यालय तर्फ कक्षा ९ अध्ययनका लागि ७० प्रतिशत भन्दा बढी विद्यार्थी योग्य बनाउने विद्यालयहरु पनि धेरै छन् । ७० प्रतिशत बढी विद्यार्थीलाई कक्षा ९ अध्ययनका लागि योग्य बनाउने विद्यालयहरुमा विजयज्योती आधारभूत विद्यालय, पञ्चज्योती आधारभूत विद्यालय, अमरज्योती आधारभूत विद्यालय, बालज्योती माध्यामिक विद्यालय, लक्ष्मी माध्यामिक विद्यालय, श्रीकृष्णगण्डकी माध्यमिक विद्यालय र रत्नराज्य माध्यमिक विद्यालय रहेका छन् ।

सामुदायिक विद्यालयहरुबाट ८८७ विद्यार्थी परिक्षामा सहभागि भएका थिए । जसमा ४८० विद्यार्थी कक्षा ९ अध्ययनका लागि योग्य भएका छन् । १२९ विद्यार्थी अयोग्य भएका छन् । सामुदायिक विद्यालयहरुको नतिजा हेर्दा ५४ दशमलब ११ प्र्रतिशत विद्यार्थी मात्र कक्षा ९ अध्ययनका लागि योग्य बनेका छन् । २७८ विद्यार्थी ग्रेड बृद्धि परिक्षामा सहभागि हुँदै छन् ।

संस्थागत विद्यालयबाट ७६.३३ प्रतिशत विद्यार्थी योग्य

गैँडाकोटमा संस्थागत विद्यालयहरुको नतिजा सन्तोषजनक देखिन्छ । संस्थागत विद्यालय तर्फ एभरग्रीन र किड्सहोम एकेडेमीले शतप्रतिशत नतिजा निकालेका छन् । दुबै विद्यालयबाट सहभागि सबै विद्यार्थी कक्षा ९ अध्ययनका लागि योग्य ठहरिएका हुन् । ग्रेड बृद्धि परीक्षामा सहभागि हुने विद्यार्थीहरुले शतप्रतिशत नतिजा निकालेको खण्डमा अक्सफोर्ड सेकेण्डरी स्कूल र ज्ञानकुञ्ज बोर्डिङ स्कुलको नतिजा शतप्रतिशत हुनेछ ।
गैँडाकोटमा संस्थागत विद्यालय तर्फ कक्षा ९ अध्ययनका लागि ७० प्रतिशत भन्दा बढी विद्यार्थी योग्य बनाउने ९ विद्यालय रहेका छन् । गैँडाकोट ईंग्लीस स्कुल, विजय सामुदायिक शिक्षा सदन, अमर ईंग्लीस बोर्डिङ स्कूल, युनिक ईं बो. स्कूल, सरस्वती निकेतन, अक्सफोर्ड सकेण्डरी स्कूल र सूर्योदय विद्या मन्दिरले ७० प्रतिशत भन्दा बढी विद्यार्थी कक्षा ९ का लागि योग्य गराउन सफल भएका छन् ।

संस्थागत विद्यालयहरुबाट ५ सय ७ विद्यार्थी परीक्षामा सहभागि भएका थिए । जसमा ३ सय ८७ विद्यार्थी कक्षा ९ अध्ययनका लागि योग्य भएका छन् । ३० विद्यार्थी अयोग्य भएका छन् । संस्थागत विद्यालयहरुको नतिजा हेर्दा ७६ दशमलब ३३ प्र्रतिशत विद्यार्थी कक्षा ९ अध्ययनका लागि योग्य बनेका छन् । ९० जना विद्यार्थी ग्रेड बृद्धि परीक्षामा सहभागि हुनेछन् ।

गैँडाकोटमा कक्षा ९ अध्ययनका लागि योग्य बनेका विद्यार्थीहरुका लागि १० देखि १५ नम्बरसम्म ग्रेस नम्बर उपलब्ध गराएको थियो भन्ने विजय खबरलाई प्राप्त सूचनालाई गैँडाकोट नगरपालिकाको शिक्षा शाखाले पुष्टि गरेन ।

गैँडाकोटमा गुरुकुल विद्यालय तर्फ श्रीमद्रामानुज वेदविद्याश्रमबाट ६ विद्यार्थी परीक्षामा सहभागि भएका थिए । जसमध्ये २ जना कक्षा ९ अध्ययनका लागि योग्य भएका छन् भने ३ विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिने छन् । १ विद्यार्थी अयोग्य भएका छन् ।

आधारभूत तहको कक्षा ८ को परीक्षामा ५ विद्यार्थी अनुपस्थित रहेका थिए ।   विजय खबर पत्रिका

 

Related Post

Leave A Comment