Latest
img

कक्षा १२ को परीक्षा आजदेखि,४ लाख ६७ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

काठमाडौं-कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन् ग्रेडेड) आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थी लाभान्वित भएका छन् । अर्थात ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन् ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।

यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकाले संशोधन गरिएको बोर्डले जनाएको छ ।

Related Post

Leave A Comment