Latest
img

गैंडाकोटमा खुल्यो मकैघर

गैंडाकोट- गैँडाकोट नगरपालिका वडा नम्बर- ५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकार सहितको `मकैघर´ सञ्चालनमा आएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरू र स्थानीय ग्राहकलाई लक्षित गरी जेठ १४ गते आइतबारदेखि मकैघर सञ्चालनमा आएको हो ।

स्थानीय युवा व्यवसायी लीला सापकोटाले ग्राहकलाई सुपथ मूल्यमा स्वस्थकर खाजा खुवाउने उद्देश्य सहित मकैघर सञ्चालनमा ल्याएका हुन् । सापकोटाका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै , मकैको चटपट, मकैको मःम , मकैको पानीपुडी,  मकैको सातु , मकैको पकौडालगायतका परिकार पाइन्छ । यस्तै मकैसँग खान मिल्नेगरी मोही, लस्सी, उखुको जुस, फलफूलका जुसहरू पनि ग्राहकलाई उपलब्ध गराइएको उनले बताए  ।

‘यो एकदम हाइजेनिक, विभिन्न किसिमका भिटामिन पाईने खाजा पनि छ ।  यो सस्तो पनि छ स्वस्थ पनि छ’ सापकोटाले भने । राजमार्गका सडक किनारामा अव्यवस्थित तरिकाले बिक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित र व्यावसायिक रूपले सेवा दिन यो अवधारणा ल्याइएको उनले बताए । मकै पोल्न, उसिन्न उनले राष्ट्रिय आविष्कार केन्द्रबाट तयार पारिएका मेसिन ल्याएका छन् । ‘म सँग अहिले आविष्कार केन्द्रबाट ल्याइएका ग्याँसबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने मेसिन छन्, उले भने, `ग्राहकको अगाडि ग्राहककै इच्छा अनुसार मकैका परिकार दिनेछौँ ।’  मेसिनबाट पोल्दा एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने उनले बताए ।

हाल दैनिक जसो दुई सय जनाको हाराहारीमा मकैघरमा ग्राहक आउने गरेको उनले बताए । ‘हामीकहाँ बिहानदेखि बेलुकासम्म खाजा खाने, प्याकिङ लैजाने ग्राहक आउने गर्नुभएको छ´, उनले भने- `यो परिकार स्वादिष्ट पनि स्वस्थकर पनि छ ।’  १५ लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको मकैघरमा मकै पारखीहरू चितवन र राजमार्गमा गुड्ने ठूलादेखि साना सवारीका यात्रु हुने गरेको सञ्चालक सापकोटाले बताए । हाल पाँच जनालाई रोजगारी दिइएको मकै घरमा एकै पटक ५० जनालाई समेत सेवा दिन सक्ने क्षमता छ । ‘मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन पनि गर्छ´, उनले  भने – `नयाँ व्यवसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ । छिट्टै नै अर्को शाखा विस्तारका लागि भरतपुरको चौबीसकोठी क्षेत्रमा तयारी भइरहेको छ ।´

Related Post

Leave A Comment