Latest
img

एक–एक गरि सबैलाई कानुनको दायरामा ल्याउने छु ः रबि लामिछाने

एलिना के.सी
नवलपुर- जनताको पसिना खाएर देशमा राज गर्ने नेताहरुलाई एक–एक गरि कानुनको दायरामा ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बताएका छन् । मंगलबार नवलपुर क्षेत्र नं १ को बृहत क्षेत्रीय भेलालाई सम्बोधन गर्दै लामिछानेले सबै भ्रष्ट्राचारीहरुलाई पालैपालो कानुनी कड्घरामा ल्याएरै छोड्ने प्रण गरेका छन् । उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताए ।

लामिछानेले आगामी निर्वाचनमा देशकै सबैभन्दा ठूलो दल बनेर देशलाई परिवर्तन तर्फ लैजाने बताएका छन् । उनले परिवर्तन चाहने जनतालाई घण्टी बजाएर स्वागत गर्ने मात्र नभई घण्टीको लोकप्रियतालाई देखेर पार्टीमा आउनेहरुलाई घण्टीले बजाउन पनि जानेको बताएका छन् । पार्टी भित्र आँफूहरुले कुनै नातावाद, कृपावाद, चाकडीवादलाई स्थान नदिएको बताउँदै नेपाली जनताले एउटा युग पर्खिएर प्राप्त गरेको आशा भएकाले यसलाई तोड्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

देशका तमाम मानिसहरुले परिवर्तन खोजिरहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तन गर्ने हुटहुटी लिएर जनता माझ आएको लामिछानेले बताए । पुराना पार्टीहरुले देशको भविष्य उज्जवल नहुने भन्दै अबको आशा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको लामिछानेले जिकिर गरे । लामिछानेले बोलिरहँदा मञ्च सामुन्ने खचाखच रहेका आम मानिसहरुले उनका वाक्य पिच्छे ताली पिटेका थिए । उखरमाउलो गर्मीमा निथ्रुक्क भिजेर भाषण गरेका लामिछानेलाई स्टेज पुग्नै हम्मे हम्मे परेको थियो । हातमा फूलको गुच्छा लिएर स्वागत गर्न बसेका आम नागरिकहरुले रबि दाई हाई हाईको नारा समेत लगाएका थिए ।

Related Post

Leave A Comment