नवीन पौडेल
नवलपुर — जग्गाधनी पुर्जा (लालपुर्जा) हात पर्दा हुप्सेकोट गाउँपालिका–२ की ६६ वर्षीया जयकुमारी विष्टको शनिबार आँखामा हर्षका आँसु थामिएनन् । वर्षौंदेखि सुकुम्बासी बनेर बस्नुपरेको पीडा जो थियो । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा ३० वर्षभन्दा पहिलेदेखि दिने भन्दै आए पनि हात परेको थिएन ।
‘पुर्जा नहुँदा बिजुली, खानेपानी तथा सरकारी निकायबाट पाउने कृषि बीउसमेत नपाउँदाको पीडा आँखा वरिपरि छायो । छोरोछोरीका लागि अध्ययन तथा केही व्यवसाय गर्न खोज्दा लालपुर्जा अभावमा पाएको सास्ती सम्झिएँ,’ उनले भनिन्, ‘तीन पुस्तादेखि पाउन नसकेको जग्गाको पुर्जा पाउँदा खुसीको सीमा नहुँदो रहेछ ।’
स्थानीय खोमकुमारी नेपाली लालपुर्जा पाएपछि छमछमी नै नाचिन् । दुःखजिलो गरेर पर्ती (ऐलानी) भए पनि जग्गा किनेकी थिइन् । नम्बरी जग्गा किन्ने आर्थिक हैसियत नभएपछि जसोतसो गुजाराका लागि पर्ती जग्गा किनेकी उनको हातमा लालपुर्जा आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिब निवारणमन्त्री रञ्जिता श्रेष्ठको अगाडि पञ्चेबाजामा छमछमी नाचिन् । ‘अहिलेसम्म सुकुम्बासी भएर बस्नुपरेको पीडा भनिसाध्य छैन,’ उनले सुनाइन्, ‘अब पुर्जा भएपछि धितो राखेर भए पनि व्यापार/व्यवसाय वा विदेश जान सकिन्छ । वर्षौंदेखि पुर्जा दिने भनेर भोट लिएकाहरूले बल्ल कार्यान्वयनमा ल्याएका छन् । अब सुकुम्बासीको दर्जाबाट माथि उठेको महसुस गरेको छु । भूमि आयोग र गाउँपालिकालाई विशेष धन्यवाद ।’
विष्ट र नेपालीसहित एउटै वडाका १ सय ५ घरपरिवारले एकसाथ जग्गा धनीपुर्जा पाएका हुन् । अधिकांश पहाडबाट बसाइँसराइ गरेर पाँच दशक पहिले तराई झरेकाहरू छन् । तीन पुस्तासम्म पनि सुकुम्बासी बनेर बस्नुपरेकाहरूको पीडामा लालपुर्जाले ठूलो राहत दिलाएको छ । सरकारले पछिल्लो समय भूमि आयोग गठन गरेपछि तत्कालै आयोगसँग सम्झौता गरेर काम गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । ‘पालिकाको मुख्य समस्या नै सुकुम्बासी र भूमिहीनको थियो,’ उनले भनिन्, ‘३ पुस्तासम्म आफ्नो भूमि नभएका दलित तथा भूमिहीनलाई लालपुर्जा प्रदान गर्दा म पनि खुसी छु । अब पालिकाभर नै पुर्जा वितरणलाई निरन्तरता दिइनेछ ।’
जिल्लाको कावासोती, देवचुली, मध्यबिन्दु र गैंडाकोट नगरपालिकामा अहिले धमाधम जग्गा नापनक्साको काम भइरहेको छ । विनयी त्रिवेणी र बौदीकाली गाउँपालिकामा भने कामले गति लिन सकेको छैन । स्थानीय तह र आयोगको सक्रियतामा अहिले जग्गा नापनक्सा गर्ने काम धमाधम भइरहेको राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले बताए । जिल्लामा ३० हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् । जिल्लामा पहिलो पटक हुप्सेकोट नगरपालिकामा लालपुर्जा वितरणको काम सुरु भएको हो ।
Leave A Comment