असार ९, २०८० शनिबार
नवलपुर – देवचुली नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि ८० करोड २६ लाख ३५ हजार रकम विनियोजन गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा आगामी वर्षको लागि सो अनुमानित आय प्रस्तुत गरिएको हो ।
नगर उपप्रमुख पार्वता तिवारीले प्रस्तुत गर्नुभएको आय व्याय विवरण अनुसार सङ्घीय सरकारको सशर्त अनुदान ३४ करोड ११ लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ३२ लाख र राजस्व बाँडफाँड १० करोड ८१ लाख ४९ हजार, गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८३ लाख ५५ हजार, राजस्व बाँडफाँड बापत १ करोड ३४ लाख १५ हजार, सर्शत विशेष ५० लाख समपुरक अनुदानतर्फ ५० लाख रहेको छ । आन्तरिक आम्दानी १२ करोड ८४ लाख १६ हजार, मालपोत रजिष्ट्रेशन शुल्क ५ करोड गरी कुल ८० करोड २६ लाख ३५ हजार आम्दानी हुने अनुमान गरिएको छ ।
त्यसै गरी कुल विनियोजित बजेटमा सामाजिक क्षेत्र तर्फ ४१.३० प्रतिशत, आर्थिक विकास क्षेत्र तर्फ ११.२५ प्रतिशत, पूर्वाधार विकास क्षेत्र तर्फ २२.१३ प्रतिशत,वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ २.९२ प्रतिशत ,संस्थागत तथा सुशासन विकास तर्फ २२.४० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आर्थिक वर्षको नीति तथा कार्यक्रम। आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आय व्याय विवरण सर्वसम्मत पास भएको छ । नगर प्रमुख न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमा नगर प्रवक्ता तिल प्रसाद काफ्लेले आर्थिक २०७९÷०८० को प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै विधायन समिती संयोजक एकदेव पौडेलले राजश्व संकलन ऐन तथा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन प्रस्तुत गर्नुभएको थियो । नगसभामा प्रस्तुत ऐन पारित गर्दै सभाले शिक्षा ऐन २०७६ को दोस्रो संशोधन समेत गरेको छ ।
Leave A Comment