Latest
img

नवलपरासीको पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

मध्यविन्दु- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसंख्या घटदो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढे सँगै राजमार्गले छोएका स्थानिय तहमा जनसंख्याको चाप बढेको हो । पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसंख्या ऋणात्मक देखिएको छ ।

बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउपालिकाको जनसंख्या पछिल्लो दशवर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसंख्या पनि बिस्तारै घटदो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङ्गटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको हो । तथ्यांक कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बौदीकालीको जनसंख्या वृद्धिदर ऋृणात्मक ३.१४ र बुलिङ्गटारको जनसंख्या वृद्धिदर ऋृणात्मक २.५७ रहेको छ ।

२०६८ को राष्ट्रिय जनगणनामा १९ हजार १२२ जनसंख्या रहेको बुलिङ्गटार गाउँपालिकाको जनसंख्या १० वर्षमा घटेर १४ हजार ६३७ पुगेको छ भने २०६८ मा १५ हजार ७३४ जनसंख्या रहेको बौदीकालीको जनसंख्या १० वर्षमा घटेर ११ हजार ३३८ पुगेको छ । त्यसै गरि मुख्य राजमार्गले नछोएको अर्को स्थानिय तह हुप्सेकोट गाउँपालिकाको जनसंख्या वृद्धिदर शुन्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । २०६८ को जनगणनामा २५ हजार ६५ जनसंख्या रहेको हुप्सेकोटको जनसंख्या १० वर्ष पछि २०७८ मा २६ हजार ५८३ पुगेको हो । यता पुर्व पश्चिम राजमार्गले छोएका स्थानिय तहको जनसंख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको जनसंख्या वृद्धिदर जिल्लामा सबै भन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार ३.१७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसंख्या ८६ हजार ८२१ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसंख्या ६२ हजार ४२१ रहेको थियो ।

जनसंख्या बढने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । २.९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसंख्या ५८ हजार ३ पुगेको छ । २०६८ मा देवचुलीको जनसंख्या ४२ हजार ६३ रहेको थियो । त्यसै गरि २.८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैंडाकोट नगरपालिकाको जनसंख्या २०७९ मा ७९ हजार ३४९ पुगेको छ । यहाँ दस वर्ष अगाडि ५८ हजार ८४१ जनसंख्या रहेको थियो ।

त्यसैगरि राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर १.१६ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा ५४ हजार १४० जनसंख्या रहेको यो नगरपालिकाको जनसंख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ । त्यसै गरि विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसंख्या वृद्धिदर १.४६ प्रतिशत रहेको छ । २०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार ९४३ जनसंख्या रहेको यहाँको जनसंख्या दश वर्षमा बढेर ३८ हजार ३ सय ७० पुगेको छ ।
ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो ।

बढदो बसाइँसराईको कारणले पहाडमा जनसंख्या घटदै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनु भयो । “गाउँपालिकाले बसाइँसराई रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको छ”उहाँले भन्नु भयो “गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिसहरु बसाइँसराइ गरिरहेका छ्न, यस्लाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौ ।” उहाँका अनुसार गाउँमानै व्यक्तीलाई मासिक ३० देखि ५० हजार सम्म आम्दानी गर्न सक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रम अगाडी बढाएको छ ।

गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ स्थानिय तहले गम्भीर भएर सोच्नु पर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताउनु भयो । “गाउँमा जनसंख्या टिकाउने हो भने पुर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउने तर्फ स्थानिय तह लाग्नु पर्छ” उहाँले भन्नु भयो “पुर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसंख्या गाउँमा पनि टिक्छ ।”

Related Post

Leave A Comment