केराखेतीमा रोग फैलिएपछि गाउँपालिकाद्धारा किटनाशक औषधी वितरण - Nepal Frontline
Latest
img

केराखेतीमा रोग फैलिएपछि गाउँपालिकाद्धारा किटनाशक औषधी वितरण

विनयी त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी क्षेत्रमा लगाइएको केराखेतीमा रोग फैलिएपछि किसान चिन्तित भएका छन् । विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणी क्षेत्रमा लगाइएको अधिकांश केराखेतीमा रोग फैलिएको छ । त्रिवेणी क्षेत्रका केराको बोटमा सिगाटोका रोग प्रकोपको रूपमा देखापरेको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उमेश कार्कीले बताउनुभयो ।

“दुई वर्ष पहिले यही रोगका कारण यो क्षेत्रमा केरा किसानले ठुलो मात्रामा क्षति ब्यहोर्नु परेको थियो”,उहाँले भन्नु भयो “अहिले पनि करिब कुल खेती मध्ये आधा क्षेत्रफलमा लगाइएको केरा खेतीमा रोग फैलिईसकेको छ ।”

एकातर्फ केरा विक्री बापतको भुक्तानी नपाउने समस्याका कारण आजित भएका किसानलाई बेच्न तयारी अवस्थामा रहेको केरामा रोग फैलिएपछि किसान थप पीडित भएका छन् । “त्रिवेणी क्षेत्रमा करिब ७५ बिगाहा क्षेत्रफलमा व्यावसायिक केरा खेती गरिएको छ त्यो मध्य ४५ बिगाहा क्षेत्रफलमा रोग फैलिएको प्रारम्भिक जानकारी पाएका छौ” वडा अध्यक्ष कार्कीले भन्नुभयो ।

रोग नियन्त्रणका लागि विनयी त्रिवेणी गाउँपालिकाले उपलब्ध गराएको किटनासक औषधी वडा मार्फत किसानलाई निःशुल्क वितरण सुरु गरिएको उहाँले बताउनु भयो ।

“केराको बोटमा लागेको रोग नियन्त्रणका लागि कपरअक्सिक्लोराईड, हेक्जाकोनाजोल, क्लोरोपाईरिपस,साईपरमेथ्रिन, बोरेक्स लगाएतका किटनाशक औषधीहरू कृषकलाई निःशुल्क वितरण सुरु गरेका छौ” उहाँले भन्नु भयो ।

गाउँपालिकाको वडा नम्बर ६ र ७ मा केरा खेतीमा तीव्र गतिमा रोग फैलिएकाले गाउँपालिका वाट निःशुल्क औषधी र प्राविधिक सेवा उपलब्ध गराइएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।

ढुसीजन्य ब्ल्याक सिगाटोका रोग लागेपछि सुरुमा केराको पातमा थोप्लो देखापर्ने र विस्तारै केराको पात हुदै बोट नै सुक्दै जाने र फल पनि पाकेर कुहिने गरेको छ । पानी पर्ने र घाम लाग्ने क्रम हुदा यो मौसममा प्राय जसो यो रोग देखा पर्ने गरेको कृषिविज्ञानहरूले बताएका छन् ।

 

Related Post

Leave A Comment