आज विश्व पर्यटन दिवस मनाइँदै - Nepal Frontline
Latest
img

आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौं – विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस भव्यरूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मंगलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ ।

विगतमा विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ ।

Related Post

Leave A Comment