Latest
img

किताब बोक्न नपर्ने सरकारी विद्यालय

माया कंडेल

गैँडाकोट । कालिका नमुना माध्यमिक विद्यालय । जहाँ विद्यालय जाँदा विद्यार्थीले किताब बोक्नु पर्दैन । गैँडाकोट ८ स्थित यस विद्यालयले फरक अभ्यास सुरु गरेको छ ।

प्राय विद्यालय जाँदै बालबालिकाले सकि नसकि पुस्तक, कपि, कलम, खाजा र पानी झोला बोकेको देखिन्छ । बालबालिकालाई भारी बोकाउन हुँदैन भनिए पनि बालबालिकाहरु गह्रुङ्गो झोला बोकेर विद्यालय जान बाध्य हुन्छन् । त्यस्तो अवस्था आउन नदिन कालिका नमुना माध्यमिक विद्यालयले किताब बोक्न नपर्ने गरी व्यवस्था मिलाएको छ ।

शुरुवाती अवस्थामा विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा बुक कर्नर बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरेका छन् । अहिले विद्यार्थी झोलामा कपि, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् । खाजा विद्यालयमा नै उपलब्ध हुन्छ । यसले विद्यार्थीलाई निकै सजिलो बनाएको छ । कक्षा २ का विद्यार्थी दिनेश बोहोराले पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको सुनाए । उनले भने, “अहिले कपि कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।”

यहि वैशाखबाट विद्यालयले यस्तो सुबिधा विद्यार्थीहरुलाई उपलब्ध गराउँदै आएको छ । पहिले झोला गह्रुङ्गो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् । कक्षा २ की विद्यार्थी वर्षा भुसाल पनि विद्यालयको सुबिधाले खुसी व्यक्त गरिन् । शिक्षकले किताब नल्याउन र स्कूलकै किताब पढ्न भनेपनी वर्षाले कहिलेकाहिँ किताब लिएर आउने गरेको बताइन् । उनले भनिन्, “स्कुलमै किताब छ तर कहिलेकाहिँ एक–दुइ वटा किताब ल्याउछौँ । तर हामीले कक्षामा नै किताब पाउँछौँ ।

कक्षा ३ का आदित्य गौतमले आफ्नै कक्षामा भएको बुक कर्नरबाट जुन विषय अध्ययन गर्ने हो सोही किताब निकालेर पढ्ने गरेको सुनाए । आदित्यले यसरी पढ्न पाउँदा सजिलो भएको सुनाउँदै भने, “किताव घरमा छुट्यो भन्न पनि पर्दैन, स्कूलमा पाइन्छ अझै आफ्नै कक्षामा हुन्छ । आफैँ किताव निकाल्छु अनि साथीसँग मिलेर पढछौँ ।”

बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तकको उपलब्धता गराउने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले बताए । उनले बालबालिकालाई सहज तरिकाले सिकाइ गराउँन यो व्यवस्था गरेको बताए । उनले अलिकति आर्थिक भार भएको बताए । अझ अर्को शैक्षिक शत्रदेखि सहज हुने प्रधानाध्यापक कँडेलको विश्वास छ । अहिले विद्यार्थीको घरमा एक सेट पुस्तक छ भने उनिहरुले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् । विद्यालयमा यस शैक्षिक शत्रमा २ विद्यार्थीका लागि १ सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक शत्रदेखि प्रत्येक विद्यार्थीलाई १ सेट पुस्तक उपलब्ध गराउने तयारी गरेको छ । प्रधानाध्यापक कँडेल भने, “हामीले पहिले सोहि कक्षामा पढेका विद्यार्थीले विद्यालयमा पुस्तक फिर्ता गराउनका लागि अभिभावकसँग सल्लाह पनि गरेका छौँ । अब अर्को शैक्षिक शत्रदेखि सहज हुन्छ । हामीले ३ कक्षासम्म मात्र नभइ अब ५ कक्षासम्म पनि त्यहि प्रक्रियामा जाने योजना बनाउँदै छौँ ।”

विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गह्रुङ्गो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले भने राहत पाएका छन् । साना उमेरका बालबालिकाहरुका लागि कालिका नमुना मध्यमिक विद्यालयले कार्यान्वयनमा ल्याएको यो अवधारणा अरुका लागि पनि अनुरकणीय योग्य छ ।

Related Post

Leave A Comment