खानेपानी आयोजना अलपत्र पार्ने ठेकेदारको फोटोसहित विरोध प्रदर्शन - Nepal Frontline
Latest
img

खानेपानी आयोजना अलपत्र पार्ने ठेकेदारको फोटोसहित विरोध प्रदर्शन

नवलपुर — खानेपानी आयोजना निर्माण अलपत्र पारेर सम्पर्कमा नआएको भन्दै उपभोक्ताले ठेकेदारको फोटोसहित विरोध प्रदर्शन गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ मा रहेको बौनाह खानेपानी समितिको काम अलपत्र पारेको भन्दै स्थानीयले आयोजनास्थलमा विरोध जनाएका हुन् । उनीहरुले ठेकेदार खोजीदिन सम्बन्धित निकायसँग माग गरे ।

डिभिजन खानेपानी कार्यालय तनहुँमार्फत २०७७ असार २१ गते ठेक्का सम्झौता गरेर ०७९ असार २१ गते योजना सम्पन्न गर्नेगरी काश्यप प्राकृतिक समिर जेभीले ठेक्का लिएको थियो । समयमै काम नसकाएपछि पहिलो पटक ०८० असार २१ गतेसम्म म्याद बढाइएको थियो ।

बौनाह खानेपानी समितिका अध्यक्ष उत्तम लामिछानेले जनतालाई खानेपानीको अधिकारबाट वञ्चित गर्न नपाइने बताए । ‘हामीले पटक-पटक ठेकेदार माघव घिमिरेलाई काम अगाडि बढाउन आग्रह गरेका थियौ । विभिन्न बहाना बनाएर काम नगर्दा आयोजना अलपत्र अवस्थामा पुग्यो,’ उनले भने, ‘काम के-कति कारणले गर्न नसकेको हो सम्बन्धित कार्यालयमा भन्नु पर्‍यो, होइन भने जनतालाई पानी खाने अधिकारबाट वञ्चित गराउन पाइँदैन् । ठेकेदारले कि काम छोड्नु पर्‍यो कि तत्काल काम सुरु गर्नु पर्‍यो ।’

तीन करोड ९२ लाख रुपैयाँमा ठेक्का लिएर तीन वर्षमा २५ प्रतिशत पनि काम नगरेको भन्दै ठेकेदार कम्पनीलाई कारबाही गर्न स्थानीय उपभोक्ताले माग गरेका छन् ।

खानेपानी डिभिजन कार्यालय दमौलीका अनुसार अहिलेसम्म करिब १ करोड ९ लाख बराबरको मात्र काम भएको छ । ठेकेदारलाई ताकेता गर्दा ‘काम गर्दै छु’ मात्र भन्ने तर काम नगर्ने प्रवृत्तिले स्थानीय उपभोक्ता आजित बनेका छन् ।

३१ किलोमिटर पाइप खरिद, पाइपलाइन विस्तार, पम्पघर निर्माणलगायत महत्वपूर्ण काम बाँकी रहेको छ ।

Related Post

Leave A Comment