कावासोती- पूर्वी नवलपरासीको त्रिवेणीधाम धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल हो । तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको सङ्गम स्थल भएकाले त्रिवेणी धामका रूपमा नामकरण गरिएको हो ।
विशेषगरि माघेऔँसीमा विभिन्न स्थानबाट स्नान गर्न आउने त्रिवेणीधाममा बुधबारदेखि माघेऔँसी मेला सुरु भएको छ । माघेऔँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन त्रिवेणीधाममा पुगेका छन् ।
भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान र पूजापाठका लागि आउने गर्छन् । तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।
शुक्रबार माघेऔँसी भएपनि बुधबारबाट भक्तजन आउने क्रम जारी छ । गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसलालले मेलामा आउने भक्तजनका लागि सडकबत्ती, पिउने पानी, र प्राथमिक उपचारको व्यवस्था मिलाएको बताउनुभयो । आधाआधी भक्तजन बुधबार आइसकेको र बाँकी बिहीबार आइपुग्ने कार्यकारी निर्देशक भुसलालले बताउनुभयो । करिब चार लाख भक्तजनहरूको मेलामा उपस्थिति रहने बताइएको छ ।
गजेन्द्र मोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम त्रेतायुगमा वाल्मीकि ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीबाट पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान ऐतिहासिक धार्मिक स्थलका रूपमा प्रसिद्ध छ । तीन नदीको सङ्गम त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । उक्त धामको धार्मिक एवम् ऐतिहासिक महत्वबारे अवलोकन तथा पूजापाठका लागि भारतका विभिन्न स्थानबाट ७० प्रतिशत भन्दा बढी धार्मिक पर्यटकको आवागमन हुने गरेको प्रपन्नाचार्य बताउनुहुन्छ ।
दरौदी, मादी, मर्स्याङ्दी, सेती, काली, त्रिशूली र बुढीगण्डकी समेत सात वटा नदी मिलेर बनेको नारायणी नदीमा पञ्चा र तमसा नामका दुई साना नदी मिलेकाले त्रिवेणी बनेको हो । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । करिब १३ बिघा क्षेत्रफलमा फैलिएको यस धाममा अहिले आधुनिक संरचना बन्नाका साथै अर्को सिसा महलले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । उक्त धाममा भारतका विभिन्न तीर्थस्थलबाट ल्याइएका शान्ति सर्वसिद्धि कलशको जल पनि आकर्षणको रूपमा छ । यस कलशलाई १०८ पटक परिक्रमा गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
त्रिवेणीधाममा साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, माघेऔँसी, शिवरात्रि, र चैतवारणीमा थारु र मधेसी समुदायका भक्तजन आउने गरेको विनयी त्रिवेणी–६ का वडा अध्यक्ष नरेन्द्र शाहले बताउनुभयो । यस क्षेत्रको विकास निर्माणको लागि मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको पहलमा विभिन्न व्यक्ति र सङ्घसंस्थाले सहयोग जुटाएर संरक्षण र प्रवर्द्धन गर्दै आएपनि विकासले पूर्ण रूप लिन नसकेकाले राज्यले पनि सहयोग बढाउनुपर्ने शाहले बताउनुभयो ।
साभार गोरखापत्र
Leave A Comment