मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम - Nepal Frontline
Latest
img

मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । चालु शैक्षिकसत्र २०८१ देखि नगरभित्रका कक्षा १ देखि ८ कक्षासम्मका सबै विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पठनपाठन सुरु गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

“विद्यार्थीमा आत्मीय भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुङ्गा सावित हुने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाताभित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम देशमा नै पहिलोपटक सुरु गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

“जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठता, राष्ट्रप्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग सम्बन्धित विषय पाठ्यक्रमका समावेश छन्”, उहाँले भन्नुभयो । विभिन्न चरणमा गरिएको अध्ययन, छलफल र अनुसन्धानपछि पाठ्यक्रम तयार गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । “विज्ञ समूहबाट नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “हाम्रो खुसी पाठ्यक्रम सबै विद्यालयमा एकसाथ सुरु गर्न शिक्षकलाई सक्षम बनाइएको छ ।”

चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरी हाम्रो खुसी पाठ्यक्रम तयार गरिएको हो । नेपालमा अहिलेसम्म प्रयोग भएका पाठ्यक्रमभन्दा यो निकै भिन्न र व्यावहारिक रहेकाले उपलब्धिपूर्ण हुने पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले बताउनुभयो ।

“कथा र गतिविधिका माध्यमबाट बालबालिकामा विचारशीलता तथा जीवन मूल्य र सम्बन्धबोध गराउने हेतुले पाठ्यक्रम तयार पारिएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको आनिबानी, संस्कार, बौद्धिक एकाग्रता, सोचको दायराका क्षेत्रमा यस पाठ्यक्रमले सकारात्मक परिवर्तन ल्याउने छ ।”

मध्यविन्दु नगरपालिकाभित्रका सबै शिक्षकलाई पाठ्यक्रमसम्बन्धी तालिम सञ्चालन, खुसी संयोजक तोक्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई अभिमुखीकरण तालिमलगायतका काम सम्पन्न गरिएको संयोजक देवकोटाले बताउनुभयो ।

मध्यविन्दुमा सामुदायिक र संस्थागत गरी ६४ विद्यालय छन् । ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्न गण्डकी प्रदेश सरकारले नवपर्वतक कार्यक्रमअन्तर्गत रु ७६ लाख र नगरपालिकाले रु ४५ लाख रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । रासस

 

Related Post

Leave A Comment