आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै - Nepal Frontline
Latest
img

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी देशव्यापी रूपमा दिवस मनाइँदै छ । चितवनमा युवाहरुको नाफारहित गैरराजनीतिक सामाजिक संस्था ‘बेटर चितवन’ले आज ‘पर्यावरणका लागि युवा आवाज युथ डायलग’को आयोजना गरेको छ । त्यस्तै, भरतपुर महानगरले वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गर्दै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्लास्टिकजन्य फोहोर प्रमुख वातावरणीय चुनौती बन्न पुगेको बताएका छन् । दिवसको शुभकामना सन्देश दिँदै उनले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक रहेको उल्लेख गरे ।

हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भनेका छन्, “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।” साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उनले औँल्याएका छन् ।

देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाएका छन् ।

उनले सन्देशमा भनेका छन्, “त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।”

वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसकेको पाइएको छ ।

Related Post

Leave A Comment