असार २८, २०८१ बिहिबार
मनसुन फेरि सक्रिय भएकाले बुधबार रातिदेखि तीन दिनसम्म देशका कयौं स्थानमा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार साँझ विशेष मौसम बुलेटिन जारी गरेर मनसुन फेरि सक्रिय भएकाले असार २९ गते बिहानसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुनसक्ने आकलन गरिएको जनाएको छ। विभागका अनुसार देशको पूर्वी र मध्य भागका धेरैजसो जिल्लामा छोटो अवधिमा धेरै पानी पर्नसक्ने जोखिम छ। कयौं जिल्लामा सचेतता अपनाउन सुझाव दिइएको छ।
बुधबार रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने भएकाले देशैभरिको आकाश बादलले ढाक्ने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको प्ररक्षेपण गरिएको छ। तर, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई भारी वर्षा मानिन्छ। त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भएमा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परेमा अति भारी वर्षा भएको मानिन्छ।
गत आइतबार र सोमबार कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा अति भारी वर्षा भएको थियो। नेपालमा वर्षा मापन हुन थालेको ७७ वर्ष यताकै सर्वाधिक वर्षा रेकर्ड गरिएको थियो। २४ घण्टाको अवधिमा दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको थियो।
विभागले मनसुन न्यून चापीय रेखा र पश्चिमी न्यून चापीय रेखा दुवैको मिश्रण हुनसक्ने भएकाले शनिबारसम्म तीव्र गतिमा पानी पर्नसक्ने आकलन गरेको हो।अहिले मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग र सिमाना आसपास रहेको छ।
आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको विभागले जनाएको छ। साथै भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ। यी दुवै प्रणालीको प्रभावले गर्दा बढी पानी पर्ने सम्भावना देखिएको हो।
Leave A Comment