Latest
img

राज्यसँग बल्ल जोडियो सुस्ता, अब सुस्ताबासीले नारायणी नदी तर्न जोखिम मोल्नुपर्दैन

काठमाडौं- नारायणी नदीका कारण असहज जीवनयापन गर्न बाध्य सुस्तावासीले अब नदी तर्नका लागि जँघार तर्नु वा डुङ्गाको जोखिम मोल्नु नपर्ने भएको छ । नेपाली बासिन्दा भए पनि गाउँ आउजाउ गर्न भारतीय भूमि प्रयोग गर्न बाध्य सुस्तावासीले त्यो सुविधा पाउने आस गरेको दस वर्षपछि मात्र बिहीबार प्रत्यक्ष अनुभूति गर्न पाए । २०७२ मा सुरु गरिएको तर हालै मात्र निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सुस्तावासीलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल नै त्यहाँ पुगे । उनसाथ कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिले पनि सुस्ताको पीडाको अवलोकन गरे ।

सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग (डोली) सस्पेन्सन ब्रिज डिभिजनद्वारा सुस्तामा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको बिहीबार राष्ट्रपतिले उद्घाटन गरेका हुन् ।

एक हजार ५७१ मिटर लामो पुलले सुस्ता गाउँपालिका–५ र सोही वडाको सुस्ता गाउँलाई जोड्छ । सुस्ता क्षेत्रमा ३५० घरधुरी बसोवास गर्दै आएका छन् । पुल निर्माण हुनुपूर्व त्यहाँका स्थानीयवासी डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । पुलको अभावमा सरकारी सेवा लिन दुईदेखि तीन दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकामा पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको छ ।

पुलसँगै उनीहरूले पुलबाटै पार गरिएको बिजुलीको उज्यालो पनि भएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा निर्मित सौर्य मिनी ग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो ।

नेपाली नागरिकका हैसियतले पाउनुपर्ने यी सुविधा उनीहरूलाई राज्यले प्रदान गरेको उपहार नै बनेको छ तर पनि नागरिकका हैसियतमा राज्यबाट पाउनुपर्ने आधारभूत सुविधामा उनीहरू अझै पछि छन् ।

त्यसैलाई सङ्केत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुस्तावासीले नागरिकता नपाएको भए नागरिकता र जग्गाको लालपुर्जा पाउने बाटो खुला भएको’ बताए । राष्ट्रपति पौडेलले यस्तो अवस्थामा पनि देशको भूमिको रक्षा गरेकोमा सुस्तावासीलाई राष्ट्रकातर्फबाट धन्यवाद व्यक्त गरे ।

राष्ट्रपति पौडेलले यस झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्बीको पवित्र तपोभूमिका रूपमा रहेको त्रिवेणीधामनजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना त्यतिकै रहेको बताए । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

Related Post

Leave A Comment