Latest
img

धौबादी वायु उर्जा केन्द्रका उपकरण अलपत्र

नवलपुर — केही वर्ष अगाडिसम्म पूर्वी नवलपरासीको हुस्सेकोट गाउँपालिका–५ धौबादीका बासिन्दालाई वायु उर्जा केन्द्र संचालन हुँदा गाउँ नै झिलिमिली बनेको थियो । टुकीको सहारामा बस्नुपर्ने स्थानीय हावाबाट बिजुली बल्दा खुसी थिए ।

गाउँ झिलिमिली बनाउने वायु उर्जा केन्द्र अहिले अलपत्र परेको छ । यसको संरक्षण र मर्मतका लागि गाउँपालिकाले पहल गरे पनि मर्मतका लागि रकम अभाव हुँदा जीर्ण बन्दै गएको हो ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट मर्मतका लागि रकम विनियोजन भए पनि कार्यान्वयन हुन सकेन् । जसले गर्दा केन्द्रमा लाखौं मूल्यका उपकरण बिगि्रँदै गएका छन् ।

‘यसअघि गाउँ नै उज्यालो बनाउने हावाबाट बिजुली निकाल्ने मेसिन अहिले बन्द छ । गाउँमा बिजुली पुगेपछि यसलाई मर्मत गर्न आनाकानी गरेजस्तो लाग्छ,’ स्थानीय यमबहादुर खण्डलुकले भने,‘धौबादी पर्यटकीय क्षेत्र हो । यही वायु उर्जा केन्द्र हेर्न पनि धेरै आउने गर्छन् । तर, बिग्रिएको देखेर निराश भएर जानुपर्ने अवस्था छ ।’

स्थानीय तहको बजेटबाट मर्मत गर्न रकम अभाव हुने र प्रदेश र केन्द्र सरकारले चासो नदिँदा विद्युत उत्पादन केन्द्रमा करिब ४ वर्षदेखि बिजुली उत्पादन बन्द भएको हो । धौबादी क्षेत्रका ४२ घरधुरीले यहाँबाट उत्पादन भएको विद्युत उपयोग गर्दै आएका थिए ।

एशियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा नमुना योजनाको रुपमा २०६८ सालमा यहाँ हावाबाट १० किलोवाट र सोलारबाट २ किलोवाट गरी १२ किलोवाट विद्युत उत्पादन गरिएको थियो । करिब २ करोड लागतमा निमार्ण भएको वायु यर्जा केन्द्र २०८० चैतमा राष्ट्रिय प्रशारणको विद्युत लाइन पुगेपछि मर्मतमा सरकारले चासो दिएको छैन ।

मर्मत संभारका लागि ४० लाख भन्दा बढी रकम आवश्यक पर्ने र त्यसपछि उत्पादित विद्युत कसरी बिक्री र उपयोग गर्ने भन्ने अन्यौल हुँदा मर्मतका लागि अन्यौल भएको हो । यो उर्जा केन्द्रमा हावाबाट ठूला पंखा चल्दा आकर्षक देखिने हुँदा फोटो खिचाउने र हेर्नका लागि आउने पर्यटक रमाउने गरेका थिए ।

साभार कान्तिपुर दैनिक

Related Post

Leave A Comment