Latest
img

जातीय संस्कृती संरक्षण गर्दै गण्डकी प्रदेश महोत्सव

गैंडाकोट- मुलुकका विभिन्न जिल्लामा लाग्ने मेला र महोत्सव भन्ने वित्तिकै नाफा आर्जनको विषय आउने गर्दछ । प्रायः लाग्ने मेला महोत्सवले व्यापार र नाफालाई नै ध्यान दिएका हुन्छन् । यद्यपि नवलपुरको गैँडकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा भने जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरुको मौलिक संस्कृति संरक्षण गर्न उनीहरुको परम्परागत घर नै निर्माण गरी महोत्सव पुग्ने सर्वसाधारणलाई संस्कृतीबारे बोध गराइएको छ । नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष दुर्गाबहादुर मस्राङ्गी मगरले महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण तथा मौलिक खानाहरु प्रदर्शनी गरिएको बताउनुभयो ।

सांस्कृतिक घरमा चेपाङले प्रयोग गर्ने बनतरुल, गिठा, भ्याकुर, पिँडालु, स्याखु मगर जातिको सांस्कृतिक घरमा उनीहरुले प्रयोग गर्ने औजारहरु न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी, थारुकोमा ढडिया, जाल, ढकिया, गुरुङको स्याखु, मादल, खैँचरीलगायतका सामग्री राखिएका छन् । सांस्कृतिक घरमा राखिएका उनीहरुको पोसाक तथा परम्परागत औजार र खाद्यान्न अति नै स्वादिष्ट भएको गैँडाकोट–२ का कृष्णप्रसाद खनालले बताउनुभयो ।

यस्ता प्रयासले जनजातिहरुको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गर्न सकिन्छ । महोत्सवमा जनजातिको परम्परागत घरसँगै उनीहरुको मौलिकता झल्किने खाना तथा संस्कृति राखिनु संस्कृति संरक्षणको राम्रो प्रयास भएको चितवनका आकाश कँडेलले बताउनुभयो ।

परम्परागत बस्ती र संस्कृतीबारे अहिलेका पुस्तालाई जानकारी नभएको अवस्थामा यसप्रकारको प्रयासले नेपाली संस्कृती बुझाउन सहयोग गर्नेछ । निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरुको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालीगढहरु प्रयोग गरिएको थियो ।

Related Post

Leave A Comment