Latest
img

हिंसा अन्त्यको लागि घरबाट नै सुरु गरौँ र शसक्तिकरण तर्फ लगानी गरौँः नवलपुरका किशोरीहरु र सरोकारवालाहरु

मध्यविन्दु- समाजमा व्याप्त किशोरीहरु र महिलाहरुमाथिको हिंसा अन्तको लागि घरबाट नै सुरक्षित अभियानहरु सुरु गर्नुपर्ने र वर्तमानका किशोरीहरुमा शसक्तिकरणका अभियानहरु सुरु गर्न सकेमा मात्र प्रभावकारी हुने नवलपुरको मध्यविन्दुमा सम्पन्न भएको अन्तर संवाद कार्यक्रमका वक्ताहरुले बताएका छन् । १६ दिने लैगिंँक हिंसा विरुद्धको अभियान अन्तर्गत नवलपुरको मध्यविन्दुमा गरिएको अन्तरसंवादमा बोल्ने सहभागीहरु र किशोरीहरुले हिंसाको रोकथामको लागि सवैजना लाग्नुपर्नेमा जोड दिनुभएको थियो । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा नवलपुरमा लामो समयदेखी विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुनुहुने वक्ताहरुले आफ्नो अनुभव र भोगाई किशोरीहरुसँग आदानप्रदान गर्नुभएको थियो ।
जिल्लामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिराखेको तैपनि किशोर अवस्थाका विभिन्न समस्याहरु रोकथाम नहुनु र दैनिक रुपमा फरक फरक खालका समस्याहरु आउनुले चिन्ता लाग्ने गरेको जिल्ला प्रहरी कार्यालयका महिला बालबालिका सेल प्रमुख विन्दु वि.क.ले बताउनुभयो । मेरो शरिर मेरो अधिकार हो भन्ने कुरा नै अहिलेका किशोरीहरुले नबुझने हुँदा र लहलहैमा नै लाग्नाले यस्ता समस्याहरु बढ्दै गएकोमा यसको लागि सवैजना लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफु किशोर अवस्थाबाट नै किशोरी शसक्तिकरणमा अभियानमा जोडिएकोले कती समस्याहरुबाट आफै जोगिन सफल भएको र समय मिलाएर अरुलाई समेत सिकाउने गरेको तैपनि समाजमा रहेकाले सानो उमेर देखेर विश्वास नगर्ने र अभिभावकहरुले पनि डर, चिन्ता र त्रास देखाउनाले सामाजिक क्रियाकलापमा अग्रसर हुनबाट रोकीनुपर्ने कावासोतीको किशोरी अभियन्ता शसी कार्की क्षेत्रीले बताउनुभयो । किशोरीहरुमाथी भएका समस्याहरुको समाधानको लागि स्वयम किशोरी लक्षित नै कार्यक्रमहरु सवै निकायले नगर्दासम्म यो समस्या समाधान नहुने र सवैले विश्वास समेत गर्नको लागि उहाँले अनुरोध गर्नुभयो ।
आफु किशोर अवस्थामा हुँदा यस्ता खालका कार्यक्रमहरु नहुनुले पछी परेको जस्तो लाग्ने गरेको र आफुले आफ्नो लागि विश्वास गरेर अगाडी बढ्दा घरपरिवारले विश्वास गर्ने हुँदा खुसी लाग्ने गरेको युवा अभियन्ता मनिषा पौडेल बताउनुहुन्छ ।  पढाईसँगै अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी हुदाँ आज विभिन्न फोरमहरुमा सहभागी हुने अवसरहरु मिल्दै गएकोमा खुसी समेत लागेको उहाँले बताउनुभयो । सवै पुरुषहरु हिंसा गर्ननै जन्मिएका होईनन र हामी किशोरीहरु र महिलाहरु पनि आफ्नो लागि कर्तव्य पथमा हिडियो भने सफल हुन सकीदो रहेछ भन्ने लाग्ने गरेको बताउनुभयो ।
नेपाल रेडक्रसबाट स्विजरल्याण्ड सम्म अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान पाँउदा होस वा अन्य कार्यक्रममा आफ्नो क्षमता देखाउदाँ होस अझै पनि हाम्रो क्षमता माथि समाजले प्रश्न चिन्ह उठाउने गरेकोले दुखी लाग्ने गरेको अर्की अभियन्ता प्रीन्सी काफ्लेले दुखी नभई खुसीका साथ अगाडी बढ्न सकीय मात्र यो समाजले स्विकार्ने रहेछ भन्ने महसुस रहेको बताउनुभयो ।
छोरीमात्र भएको घर होस वा अरु घर सवैले समान रुपमा अवसर दिन सकेमा मात्र यो हिंसा र शोषणको अन्त्य हुने हुँदा सम्पूर्ण किशोरीले आफ्नो क्षमता अभिबृद्धी गर्नुपर्ने र यसको लागि शिक्षा पहिलो अस्त्र रहेको र यो सँगै अरु सामाजिक सिकाईहरु समेत सँगै लैजानुपर्नेमा प्रिन्सी काफ्लेले बताउनुभयो ।
नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम लागु गरी अनुशासित र शैक्षिक क्रियाकलापहरुलाई व्यवस्थित रुपमा अगी बढाउन पहलहरु गरिरहेको र विद्यालय भित्र हुने हिंसा, शोषण र असमानता अन्त्यको लागि समेत शिक्षा शाखा प्रतिबद्ध रुपमा लागिरहेको बताउनुभयो । अन्तर संवाद कार्यक्रममा सहभागीहरुले पाठ्यक्रमहरुमा यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षाको बारेमा जानकारी, विद्यालयहरुमा किताब भन्दा बाहीरी कुराहरु पढाई नहुनु, अनुशासनको बहानामा किशोरकिशोरीमाथि गरिने क्रियाकलापले अवको पुस्ता अझै समस्यामा पर्न सक्ने हुँदा सवै सरोकारवालाहरुको ध्यानाकर्षणको लागि समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सहजकर्ता धनु भुसालले जिल्लामा स्थानीय सरकारहरुले र सरोकारवालाहरुले गर्नुपर्ने धेरै कार्यहरु रहेको र यो तर्फ ध्यान दिन नसक्दा समस्याहरु बढीरहेकोले यसतर्फ समेत लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपाल, नवलपुर किशोरी सञ्जाल, क्रियाशिल पत्रकार महिला नवलपुर र क्यान्नालनको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो । कार्यक्रममा देवचुली, कावासोती र मध्यविन्दुका बाल सञ्जालका पदाधिकारीहरु, किशोरीहरु र अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Related Post

Leave A Comment