कावासोती- शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १ सय ६० एमएम को पाईप ल्याई कुहिखोलाको पानी संचालनमा १७ सय २५ मिटर पाईप लाईन विस्तारको कार्य शुरु गरेको छ ।
शनिवार संस्थाको १२ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजकुमार घिमिरेले खानेपानीलाई थप प्रभावकारी बनाउनका लागि फिल्टर प्लान नजिकै सम्पवेल(Sumpwell)को पानी संचालन गर्नका लागि चेम्बर बनाईएको बताउनुभयो । महाराजा मन्दिर टोलमा पाईप लाईनको व्यवस्था मिलाईएको र शान्ति टोल न्यू रोडमा आवश्यकता अनुसार पाईप लाईन विस्तार गरिएको बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक योजना प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले धारामा २४ सैं घण्टा पानी संचालनको लागि विशेष प्रयास भएको जानकारी दिनुभयो ।
गत वर्ष पुरा गर्न बाकी रहेको क्रमागत कार्यक्रमहरुलाई निरन्तरता दिईने, नेपाल सरकारको यसै आर्थिक वर्षमा आयोजनाको सम्पूर्ण विस्तारित कार्यक्रम अन्तर्गत कुहि खोलाको मुहान देखि आ.र.भि.टि. टंकी सम्म पाईप विस्तार गरी पानी संचालन गरिने, बालुवा खोलामा पानी ल्याउन विछ्याएको १ सय १० एमएमको पाईपलाई परिवर्तन गरी १ सय ६० एमएमको पाईपबाट पानी संचालन गरिने प्रतिवेदनमा उल्लेख छ ।
कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तवारक अहमद मियाको प्रमुख आतिथ्यतामा भएको सभामा खानेपानी तथा सरसफाई डिभिजन इकाईका प्रमुख इन्जिनियर महेन्द्रराज आचार्य, संस्थाका सस्थापक अध्यक्ष नारायण पन्त, संघिय खानेपानी कार्यलयका इन्जिनियर शेषकान्त पाण्डे, वडा सदस्य ओम बहादुर थापा, पूर्ण बहादुर चितौरे, रेखा सुनार, विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधी सहित उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तवारब अहमद मियाले खानेपानी संस्थाले नगरपालिकाबाट अनुदानको लागि माग गरेको १५ लाख रुपौया उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । खोलामा बाढी आउदा धारामा हप्तौ पानी नआउने समस्या अहिले समाधान भएको भन्दै कार्यसमितिलाई स्वस्च्छ पानी वितरणमा निरन्तर लागेको बताउनुभयो । खानेपानीका पाईपहरु पुरानो भएका र मर्मत गर्नुपर्ने स्थानमा तत्काल गर्नको लागि आग्रह गर्दै अध्यक्ष मियाले वडाले आवश्यक सहयोग गर्न सधै तयार रहेको बताउनुभयो ।
शिवमन्दिर खानेपानीको संस्थाको शुरुवाती समयमा भएका समस्या र चुनौतीहरुको स्मरण गर्दै सरसफाई डिभिजन इकाईका प्रमुख इन्जिनियर महेन्द्रराज आचार्यले खानेपानीको सुधार विस्तार योजनामा आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । त्यस्तै इन्जिनियर शेषकान्त पाण्डेले खानेपानी शिवमन्दिर खानेपानी संस्थाले २४ सैं घण्टा पानी धारामा नल्याउदा सम्म साथ सहयोग रहेने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष नारायाण पन्त, सस्थापक सदस्य चुडामणी कंडेल, संस्थाका पूर्व उपाध्यक्ष खगेश्वर भुसाल, पूर्व अध्यक्ष श्याम राना, नवविहानी युवा क्लवका अध्यक्ष दिनेश ठाडा मगर, बुद्ध सामुदायिक वनका अध्यक्ष लाल बहादुर वि.क.,वडा सदस्य ओम बहादुर थापा लगाएतले खानेपानी संस्थाले पछिल्लो समय राम्रो काम गरिरहेको भन्दै २४ सैं घण्टा सफा र स्वस्च्छ खानेपानी वितरणमा लाग्नको लागि कार्यसमितिलाई सुझाव दिएका थिए ।
शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा खानेपानी महसुल बापत ३२ लाख ९४ हजार ३१ रुपौया आम्दानी भएको कोषाध्यक्ष राज कुमार श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै चालु वर्षमा महसुलबाट ४१ लाख रुपौया आम्दानी गर्ने अपेक्षा गरेको छ । कार्यक्रम सचिव लक्ष्मण श्रेष्ठले संचालन गर्नुभएको थियो
Leave A Comment