Latest
img

नवौँ राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो ।

प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।

नवलपुर सदरमुकाम कावासोतीमा दुवै खेल खेलाइने छ। सेपाताक्रो कावासोती–२ स्थित योङ्ग स्टार क्लबको कभर्डहलमा असोज २९ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने छ । सेपाताक्रो खेलमा देशभरबाट ९८ खेलाडी सहभागी हुने पुनले बताउनुभयो ।

यसैगरी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कुस्ती प्रतियोगिता कावासोती–१६ डण्डस्थित थारु सङ्ग्रहालय परिसरमा सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । कुस्तीमा देशभरबाट एक सय ५८ खेलाडी सहभागी हुने छन् । दुवै स्थानमा प्रतियोगिताको तयारी जारी छ ।

दुवै खेलको बन्द प्रशिक्षण नवलपुरमा चलिरहेको छ । सेपाताक्रो गण्डकी प्रदेशका प्रशिक्षक जनार्दन पौडेलका अनुसार अहिले कावासोतीमा गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण जारी छ । कुस्तीमा भाग लिने गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण भने त्रिवेणीमा चलिरहेको छ ।रासस

Related Post

Leave A Comment