Latest
img

निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो । डीआईजी सिंह अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ प्रहरी उपरीक्षक हुँदा यस घटनाको अनुसन्धानमा खटिनुभएको थियो ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी हुनुहुन्छ । उहाँहरूलाई यस घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम् पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिनुभएको थियो ।

त्यही आधारमा हिजाे प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछाने समक्ष घटनामा अहिलेसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । अहिलेसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिनुभयो ।

यस क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाइ निष्कर्षमा पुर्याउन प्रहरीलाई निर्देशन दिनुभएको छ । २०७५ साल साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म त्यस घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डीएनए परीक्षणसमेत गरिसकेको छ । रासस

Related Post

Leave A Comment