Latest
img

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो ।

नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन एवं तटबन्धन (कुसुमघाट–थुम्सी) आयोजना अघि बढेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो । सङ्घीय सरकारको नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत सञ्चालन हुने यस आयोजनाले गैँडाकोटका वडा नम्बर २, ६ र ९ लाई समेट्ने रिजालको भनाइ छ । “निर्माण कार्यका लागि एक महिना अगाडि नै काठमाडौँको मूलपानीस्थित निर्माण व्यवसायी ‘श्री रमण–त्रिवेणी जेभी’सँग सम्झौता भइसकेको छ”, उहाँले भन्नुभयो, “यही मङ्सिर २७ गतेदेखि आयोजनाको काम सुरु भइसकेको छ ।

उक्त आयोजना विसं २०८२ जेठ १८ गते सम्पन्न गर्नेगरी मङ्सिर १५ मा सम्झौता भएको रिजालले बताउनुभयो । आयोजनाको लागि आवश्यक पर्ने क्रसर प्लान्ट गैँडाकोट–६ मा स्थापना गरी वडा नम्बर–९ बाट आयोजनाको काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत गैँडाकोटमा चार हजार नौ सय ४५ मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्धन हुनेछ ।

गैँडाकोट–६ का वडाध्यक्ष सुभाष चापागाईंका अनुसार वडा नम्बर २ मा पाँच सय मिटर, वडा नम्बर ६ मा छ सय ३० मिटर, वडा नम्बर ९ मा छ सय ६५ मिटर, विपी अन्तर्राष्ट्रिय खेलग्राममा तीन हजार एक सय ५० मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्ध निर्माण हुनेछ । तटबन्धसहित नदी किनारमा बन्न लागेको सडकको उचाइ नदीको सतहबाट सात दशमलव आठ मिटर तथा चौडाइ १२ मिटरको हुने जनाइएको छ । उक्त आयोजना सङ्घीय सरकारको रु एक अर्ब ९७ करोड ६८ लाख ८१ हजारमा सम्झौता भएको हो ।

कुसुमघाट–थुम्सी आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक पर्ने निर्माण सामग्री (ढुङ्गा, गिट्टी तथा बालुवा) नदीबाटै उत्खनन गरिने वडाध्यक्ष चापागाईंले जानकारी दिनुभयो । आयोजना निर्माण कार्यका लागिमात्र प्रयोग गर्नेगरी आयोजनाको आवश्यकताअनुसार नदीजन्य पदार्थ उत्खनन तथा उत्पादन गर्न अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन अनुमति प्रदान गरिएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि सुवास तिमल्सिनाबाट निवेदन पेश भएअनुरुप ठेक्का सम्झौता बमोजिम अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन गर्न दिइएको गैँडाकोट नगरपालिकाले जनाएको छ । नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख शङ्कर कँडेलका अनुसार जल, जमिन, ध्वनि तथा वायु प्रदूषण नियन्त्रण विधि तथा उपाय अवलम्बन गरी क्रसर प्लान्ट स्थापनाका लागि अनुमति प्रदान गरिएको छ ।

पुस ८ गते बसेको गैँडाकोट नगरपालिकाअन्तर्गतको नगर विपद् व्यवस्थापन समितिले नदी किनारमा तटबन्धसहितको सडक निर्माणका लागि आवश्यक पर्ने नदीजनय पदार्थ उत्खनन गर्न अनुमति दिने निर्णय गरेको कँडेलले बताउनुभयो । आयोजनाको क्याम्प तथा क्रसर प्लान्ट स्थापनाका लागि करिब चार बिघा जमिन भाडामा उपलब्ध गराइने उहाँको भनाइ छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नगरको भाडा निर्धारण समितिबाट यथोचित भाडा निर्धारण गरी कार्यालयले तोकेको स्थानमा क्याम्प तथा क्रसर प्लान्ट स्थापना गर्न सहमति प्रदान गरिएको बताउनुभयो । रासस

 

Related Post

Leave A Comment