पढ्दै कमाउदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण - Nepal Frontline
Latest
img

पढ्दै कमाउदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

मध्यविन्दु – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजो आज विद्यालयमा पढने मात्र होइन् सिलाइकटाइ तालिम पनि सिक्ने गर्नु हुन्छ ।
विद्यालमा हरेक दिन बिहान ६ बजे देखि साढे ७ बजे सम्म सिलाइकटाइ सम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसक्नु भएको छ । “सधै किताव मात्र पढिरहदा ध्यान केन्द्रित हुदैन थियो तर फरक सीप सिक्दा नयाँ सीप र पढाई दुवै राम्रो भइरहेको छ” तामाङले भन्नु भयो । गत दुई महिना देखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गतको सिलाइकटाइ तालिममा सरुखा जस्तै सोही विद्यालयका कक्षा नौ मा अध्ययनरत ४३ जना विद्यार्थीहरु सहभागि भई पढ्इ संगसंगै सीप पनि सिकिरहेका छन् । कक्षाका छात्र छात्रा सबै जना सिलाइकटाइ तालिममा सहभागि हुने गरेका छन् ।
क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाई कटाई तालिम लिन पाउदा खुसी लागेको बताउनु भयो । “विद्यालयमा पढाइ मात्र हुने गरेको थियो तर यो वर्ष देखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ हामिलाई धेरै नै प्रभावकारी भई रहेको छ” उहाँले भन्नु भयो । हुप्सेकोट गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम लागु गरि १२ वटा माध्यमिक विद्यालयमा फरक फरक सीपमुलक तालिम सञ्चालन गरेको छ । सोही अन्तर्गत सुर्यज्योति माविमा सिलाइकटाइ तालिम सञ्चालन भएको विधालयका प्रधानाध्यापक निमु गिरीले बताउनु भयो ।

“हाम्रो विद्यालयमा एक सय ८० घण्टे सिलाइकटइ तालिम सञ्चालन गरेका छौ”उहाँले भन्नु भयो “कक्षा नौ का विद्यार्थीहरु हेरक दिन बिहान ६ बजे देखि साढे ७ बजे सम्म सिलाइकटाइमा सहभागि हुन्छन् ।” विद्यालयले १५ वटा सिलाइ मेसिन स्थानीय अभिभावकहरुसंग सहयोग मागेर तालिम सञ्चालन गरेको छ ।

“गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालयमा उपलव्ध गराउने ६२ हजार पाँच सय रुपौँया वाट एक जना प्रशिक्षक र आवश्यक सामाग्री व्यवस्थापन गरेका छौ”उहाँले भन्नु भयो । स्कूलका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने कार्यक्रमले विद्यालय तह उतीर्ण गर्दा विद्यार्थीमा व्यवसायीक सीपको पनि विकाश हुने हुदाँ यो कार्यक्रम निकै प्रभावकारी हुने प्रधानाध्यापक गिरीले बताउनु भयो । हुप्सेकोट गाउँपालिकाले गत शैक्षिक सत्रमा चार वटा विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउदै कार्यक्रम अहिले १२ वटा विद्यालयमा सञ्चालन गरेको छ ।

कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीलाई एक सय ८० घण्टे सीपमुलक तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । “प्राविधिक तालीमकै लागि पालिकाले १२ वटा विद्यालयलाई ६२ हजार पाँच सयका दरले सात लाख ५० हजार बजेट विनियोजन गरेको छ” उहाँले भन्नु भयो “यो वर्ष चार सय ५० जना विद्यार्थीले तालिम लिइरहेका छन् ।”
पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत सिलाइकटाइ, इलेक्ट्रिसियन, मोबाइल मर्मत, प्लम्बर, ब्यूटिसियन, कपाल काट्ने तालिम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

“कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सीप बोकेर निस्किऊन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको हो” उहाँले भन्नु भयो । पढ्दै कमाउदै कायृक्रम अन्तर्गत सञ्चालन भएको तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को तह दुई बराबरको रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । “तालीम सकिएपछि विद्यार्थीलाई सीटीईभीटीकै प्रमाणपत्र पनि उपलब्ध गराइने छ”उहाँले भन्नु भयो ।

हुप्सेकोट गाउँपालिकाको शिक्षा ऐनमा नै विद्यार्थीलाई प्राविधिक सीप सिकाउने बुँदा समेटिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले बताउनु भयो । चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौ” उहाँले भन्नु भयो । सीप मुलक तालिम नियमित कक्षा लाई असर नपर्ने गरि बिहान र साझँ को समयमा सञ्चालन गर्न विद्यालयहरुलाई समन्वय गरिएको घिमिरेले बताउनु भयो । आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनु भयो । “यस क्षेत्रमा धेरै विद्यार्थीहरू आर्थिक रूपले कमजोर छन्,” उहाँले भन्नु भयो “यस्ता व्यावसायिक सीपले वैकल्पिक आयआर्जनमा सहयोग पुग्ने छ ।”

पढ्दै कमाउदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट–३ बेलाहानीका प्रधानाध्याक सूर्य भण्डारीले बताउनु भयो । “हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालीममा सहभागी भएका छन्” उहाँले भन्नु भयो “यहिँ तालिमले गर्दा विचमा पढाइ छाड्ने संख्या यो वर्ष छैन् ।” तालिम लिन पाउँदा विद्यार्थीहरु खुशी देखिएका छन् । सीप मुलक तालिममा सहभागि भए पछि विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको शिक्षकहरुको अनुभव रहेको छ । हुप्सेकोट गाउँपालिकाको चालू आर्थिक वर्षको कुल बजेट रु.५१ करोड ७८ लाख ८४ हजार रहेको छ । उक्त बजेट मध्य शिक्षामा मात्रै रु.२० करोड नौ लाख ५४ हजार बजेट विनियोजन गरेको छ ।

Related Post

Leave A Comment